मधेश प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलहरूले बैठक चल्न नदिएपछि अनिश्चित कालको लागि स्थगित भएको हो ।

अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिनुभयो ।
यस अघि आजको प्रदेश सभाको बैठक शुरु हुने वित्तिक्कै प्रतिपक्षी दलका प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध गर्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाले अर्थमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताउनुभयो ।
उहाँले कुशवाहाले बजेटमा बिचौलिया हाबी भएको, सशर्त अनुदानमा समेत अनियमितता भएको आरोप लगाउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले भने विपक्षीहरूले समस्या समाधान गर्न नचाहेको आरोप लगाउँदै वार्ताका लागि वार्ताको टेबलमा नै नबस्ने काम हुनु संसदीय मर्यादा विपरीत भएको बताउनुभयो ।
उहाँले आफ्नो क्षेत्रको समस्या राख्ने ठाउँ प्रदेश सभा भएकोले बैठकलाई बन्धक बनाउने काम अनुचित भएको आरोप पनि लगाउनुभयो । अर्थमन्त्रीको राजीनामा माग गर्दैमा राजीनामा नआउने बताउनुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज बिहान प्रदेश सभामा बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरू अनुपस्थित थिए ।
मधेश प्रदेश सभाको छैटौँ अधिवेशन हिजोबाट शुरु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्