तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा पानी परीक्षण ‘नेगेटिभ’, हैजा फैलाउने जीवाणु नदेखिएको पुष्टि

वीरगञ्ज । वीरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको सङ्क्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि भएको छ । 

हैजा प्रभावित वडा नं. १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै नमुनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको हो ।

पछिल्ला दिनमा झाडापखाला तथा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि महानगरले तत्कालीन जोखिमलाई ध्यानमा राख्दै आफ्नै प्रयोगशालामा पानी परीक्षण सुरु गरेको थियो । 

महानगरले हैजा प्रभावित वडा नं. १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमुना सङ्कलन गरी परीक्षण गरेको थियो । तीमध्ये तीन वटा बोरिङ र चार वटा खानेपानी संस्थानका धाराबाट नमुना सङ्कलन गरिएको थियो । सबै सात नमुनामा झाडापखाला फैलाउने इ.कोली जीवाणु फेला नपरेको महानगरले जनाएको हो । 

यसअघि, मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमुनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको थियो ।

वडा नं. १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट हाल परीक्षण भइरहेको छ । माइक्रोबायोलोजिष्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा भइरहेको परीक्षणमा हाल इ.कोली परीक्षण गरिएको हो । 

युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ । यसको प्रतिवेदन शुक्रवारसम्म आउने जनाइएको छ ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शङ्कास्पद क्षेत्रमा पुगेर धाराको पानी सङ्कलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ । कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्नेबारे यथाशीघ्र जानकारी प्राप्त गर्न र तत्काल आवश्यक कदम चाल्न सहज हुने भएकाले महानगरले आफ्नै स्तरमा परीक्षण अघि बढाएको हो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सङ्क्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको बताउनुभयो । 

उहाँका अनुसार नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरिएको बताउनुभयो ।

अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धारामा प्राथमिकता दिँदै परीक्षण भइरहेको छ भने आवश्यकता अनुसार अन्य शङ्कास्पद स्थानका नमुनासमेत सङ्कलन गरी परीक्षण गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button