तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिको बाधक बनेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति 

सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठ्यक्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभएको छ  । 

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । 

“गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो ।  

राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार हो भन्नुभयो । त्यसैले, राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरूप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उहाँको भनाई थियो । 

“ यसका लागि कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण गर्ने खालको शिक्षा प्रदान गर्ने गरी आवश्यक पाठ्यक्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ भन्ने म ठान्दछु”,राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले देशको लागि स्वदेशमै केही गरौँ भन्ने सृजनशील जनशक्तिको आवश्यकता औँल्याउनुभयो । 

उहाँले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन भन्नुभयो । “यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सृजना गरेर विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माण गर्न पनि सीपमूलक शिक्षा आजको आवश्यकता हो, यसमा हाम्रो ध्यान केन्द्रित गरौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले नेपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दैछ भन्नुभयो । 

आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको उहाँको भनाई थियो । 

“एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी बिस्तारै निस्तेज हुँदै जानेछन्, समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेतिथिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त हो भन्ने चाहिँ हामीले भुल्नु हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले सुन्दर प्रकृतिले प्रचुर पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा जलविद्युत उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको तथा छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना उत्तिकै छ भन्नुभयो । “अमूल्य वनस्पति, जडीबुटी र कृषि खेतीको पनि यो उर्वर भूमि हो, मैले भन्दै आएको छु कि हाम्रो देशको विकासको आधार भनेको कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दाको विकास एवम् विस्तार नै हो, जुन यहाँको भौगोलिक र प्राकृतिक संरचना र स्वरूपले पनि पुष्टि गर्दछ ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button