तपाईँ सुन्दै हुनुहुन्छः

देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

नवलपुर। यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । “हाल जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डन्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ । अबको केही दिनमा जग ढलानको काम हुन्छ”, उहाँले भन्नुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्दा विभिन्न प्रजातिका ६४६ वटा रूख÷पोल कटान गर्नुपर्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अगाडि बढेको कटुवालले बताउनुभयो । मन्त्रिपरिषद्बाट रूख कटानको अनुमति पाएको भए पनि हाल भवन निर्माण हुने ठाउँको मात्रै रूख काटेर काम भइरहेको उहाँले सुनाउनुभयो ।

ट्रमा सेन्टरका साइट इन्जिनियर अविशेककुमार चौरसियाका अनुसार झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माण भइरहेको छ । यस्तै, १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफल ओगट्ने गरी बनाइँदैछ । जसमा भुइँतल्लामा बिरामीको उपचार, पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीको आवास हुनेछ । अस्पतालमा एक्स–रे कक्ष, शल्यक्रिया कक्ष (अपरेसन थिएटर), प्रयोगशालाका लागि आवश्यक पर्ने कोठाहरू निर्माण हुनेगरी नक्सा तयार भई काम अगाडि बढेको उहाँले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गसँगै निर्माण हुन लागेको ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button