पोखरामा सुरु भयो ‘प्रधान सेनापति ट्रफी–२०८२’

पोखरा । नेपाली सेनाले आयोजना गर्दै आएको प्रधान सेनापति ट्रफी–२०८२ पोखरामा सुरु भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबारदेखि उक्त प्रधान सेनापति ट्रफी–२०८२ अन्तर्गत बक्सिङ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा ८ पृतना, ५ बाहिनी र १ विशेष फौज बाहिनीका खेलाडीहरू सहभागी हुनु भएको पश्चिम पृतनाले जनाएको छ । उक्त बक्सिङ प्रतियोगितामा २ सय २४ जना खेलाडीहरूले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुने भएको पश्चिम पृतनाका सेनानी (बक्सिङ खेलका समन्वय अधिकृत) हुमन सिंह कुवरले बताउनु भयो । उक्त प्रतियोगिता यही भदौ ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । यही भदौ १४, १५ र १७ गते नेपाली सेनाको यूटुव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ ।
यसैबिच, पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी मधुकरसिंह कार्कीले उक्त प्रतियोगिताको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै नेपाली सेनाले नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधान सेनापति ट्रफीले खेलाडीहरूको प्रतिभा प्रष्फुटन गर्नुका साथै खेलकुदमा निरन्तर लाग्न प्रेरणा जगाउने जनाउनु भयो । उहाँले नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाले बक्सिङबाट १२ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको स्मरण गर्नुभयो । नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदको क्षेत्रबाट नेपालको नाम उँचो पार्ने काम गरेको जनाउनु भयो । यस आन्तरिक प्रतिस्पर्धा खेलाडीहरूमा थप प्रोत्साहन र हौसला मिल्ने भएकोले आर्मीले हरेक बर्ष उक्त प्रतियोगितालाई निरन्तरता दिँदै आएको पृतनापति कार्कीले बताउनु भयो ।
प्रधान सेनापति ट्रफी–२०८२ अन्तर्गत बक्सिङसँगै फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, पौडी, जुडो र तेक्वान्दोका विभिन्न क्षेत्रमा प्रतियोगिता हुने भएको छ । प्रधान सेनापति ट्रफी अन्तर्गत विभिन्न खेल तर्फका प्रतियोगिता यही असोज १० गतेसम्म सञ्चालन हुने भएको छ । २०६७ साल देखि उक्त प्रधान सेनापति ट्रफी सुरु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्