तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्छ’

रुपन्देही । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार  बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेकोले सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताउनुभयो । 

अधिकारको बारेमा उपभोक्ता, व्यवसायी, जनप्रतिनिधि लगायतको सुझाव सङ्कलन गरि लिपिबद्ध गर्ने उल्लेख गर्नुभयो । किसान, व्यवसायी र उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य निर्धारणमा सरकारले ध्यान दिने सिंहले उल्लेख गर्नुभयो । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उहाँले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तर संवादले उपभोक्ताको हक अधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कांग्रेसका केन्द्रीय सदस्य आपूर्ति तथा उद्योग विभाग प्रमुख गुरु बरालले जनजीविका र चुलो चौको महँगो भएको बारेमा पनि राजनीति गर्नेहरू चनाखो हुनुपर्ने धारणा राख्नुभयो । 

केन्द्रीय सदस्य गंगा शाहीले पार्टीले उपभोक्ताहरूलाई जागरूक बनाउनुपर्ने बताउनुभयो । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उपभोक्ताको अधिकारमा पार्टीको प्रदेश समितिले पनि सरकारलाई ध्यानाकर्षण गराइरहेको बताउनुभयो । 

कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button