तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चालु आवमा जापानिज इन्सेफ्लाईटिसबाट चार जनाको मृत्यु 

चितवन  । जिल्लामा यस आर्थिक वर्ष २०८२/०८३ को मङ्गलबारसम्म १४ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भइसकेको छ । 

मृत्यु हुने चारै जना ६० वर्षमाथिका छन् । उनीहरूको मृत्यु भइसकेपछि मात्रै सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । सङ्क्रमण पुष्टि भएका १४ जनामध्ये दुई जना १५ वर्षमुनिका, चार जना १५ देखि ६० वर्ष उमेर समूहका र आठ जना ६० वर्षमाथिका छन् । 

भरतपुर महानगरमा मात्रै पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै खैरहनीका तीन, राप्ती र कालिकाका दुई/दुई जना तथा माडी र रत्ननगरका एक÷एक जनामा सङ्क्रमण भेटिएको हो । राप्ती–१२ की ७० वर्षीया महिला, कालिका–५ का ८९ वर्षीय पुरुष, भरतपुर–१२ का ८१ वर्षीय पुरुष र भरतपुर–२२ का ७० वर्षीय पुरुष सङ्क्रमितको मृत्यु भएको हो ।

तीन पालिकामा सङ्क्रमण ‘आउटब्रेक’ भएपछि सचेतना अभिवृद्धिका लागि माइकिङ गर्न थालिएको कार्यालयले जनाएको छ । यसबाहेक, लामखुट्टेको टोकाइबाट जोगिनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कार्यालय प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो  ।

उहाँका अनुसार  चितवनका तीन पालिकामा जापानिज इन्सेफ्लाइटिसले महामारीको रूप लिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र खैरहनी नगरपालिकामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण ‘आउटब्रेक’ भएको हो । १४ दिनको अवधिमा एउटै वडा वा जोडिएको वडामा दुई वा दुईभन्दा बढी केस देखिएमा सङ्क्रमणले महामारीको रूप लिएको अर्थात् ‘आउटब्रेक’ भएको मान्न सकिने उहाँको भनाई छ । ‘सङ्क्रमण देखिने बित्तिकै हामीले बिरामी बस्ने समुदायमा अभिमुखीकरण गरिहाल्छौँ । सुँगुर पालेको छ भने व्यवस्थित रूपले पाल्नलाई सुझाव दिन्छौँ’, उहाँले भन्नुभयो ‘सङ्क्रमणबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । सकभर बिहान–बेलुका घरबाहिर ननिस्कने, सुत्ने बेलामा झुल लगाउनेजस्ता सचेतना प्रदान पनि गर्दै आएका छौँ ।’ १२ महिनामुनिका बालबालिकालाई जेई खोप नियमितरुपमा लगाउने गरिएको उहाँले बताउनु भयो । यो खोपले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन दिँदैन ।

क्युलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा मानिसमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन सक्छ । यसको सङ्क्रमण मान्छेबाट मान्छेमा सर्दैन । सुँगुर, बङ्गुर वा हाँसलाई टोकेको सङ्क्रमित लामखुट्टेले टोकेमा मान्छेलाई सङ्क्रमण देखिने उहाँले जानकारी दिनुभयो । यसको जीवनचक्र पानी जमेको धानखेतमा पूरा हुने गर्छ ।

जापानिज इन्सेफ्लाइटिसलगायतका कीटजन्य रोगको सङ्क्रमण बढ्न थालेपछि भदौ ६ गतेदेखि सचेतनामूलक माइकिङ गरिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button