तपाईँ सुन्दै हुनुहुन्छः

लिजा नतिजामा अजयमेरु गाउँपालिका पहिलो 

डडेल्धुरा । डडेल्धुरामा रहेका सात वटा स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका सबैभन्दा धेरै अंक ल्याएर स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा पहिलो भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ८३.२५ प्रतिशत अंक ल्याएर जिल्लामै पहिलो बन्न सफल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार अजयमेरु गाउँपालिका पहिलो बनेको हो । आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकाले समान अंक ल्याएर दोस्रो स्थानमा रहेका छन् । आलितालले ८१.२५ अंक पाउँदा भागेश्वर गाउँपालिकाले पनि ८१.२५ नै पाएको छ । 

तेस्रो स्थानमा गन्यापधुरा गाउँपालिका रहेको छ । उसले ७५.५० अंक प्राप्त गरेको छ । यसैगरी परशुराम नगरपालिकाले ७५.२५ र अमरगढी नगरपालिकाले ७३.७५ र नवदुर्गा गाउँपालिकाले ७३.२५ अंक पाएको छ ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन,आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरूको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक गरेको छ । स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दे आइरहेको छ ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण लगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button