सोरु गाउँपालिका जाने सडकमा पहिरो बढ्दै, ठिनीको खेतीयोग्य जमिन मासिँदै
मुगु । मुगु सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल हुँदै सोरु गाउँपालिका जाने सडकमा वर्षासँगै पहिरोको जोखिम बढ्दै गएको छ । घरको फोहर पानी र वर्षे पानीको उचित निकास नहुँदा भिरालो जमिन बगेर खेतीयोग्य जमिन मासिन थालेको हो ।

विशेषगरी ठिनी क्षेत्रमा जग्गा कटान भई उर्वर खेत गल्छीमा परिणत हुँदै गएपछि स्थानीय किसानको जीविकोपार्जनमा समेत असर परेको छ । सडकमा निरन्तर पहिरो खस्दा बाटो सङ्कुचित र जोखिमपूर्ण बन्दै गएपछि बिरामी बोकेर अस्पताल लैजाने सवारीसाधनदेखि सोरु गाउँपालिका आवतजावत गर्ने स्थानीय सर्वसाधारण दुबैलाई समस्या बढेको छ ।
निर्माण व्यवसायी सन्तोष कुमार मल्लले तत्काल ढल निकासको व्यवस्था र संरक्षण पर्खाल (रेटीङ वाल) निर्माण नगरे ठुलो क्षति बढ्ने जानकारी दिनु भयो । उहाँले भन्नू भयो “वर्षेनी यसैगरी खेतीयोग्य जमिन मासिँदै गएको छ । ढल व्यवस्थापन र संरक्षणको काम तुरुन्त थाल्नु पर्छ, नत्र समस्या अझ जटिल बन्छ ।”
यसैबीच, सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख इन्जिनियर दिपेन्द्र चौधरीले क्षतिको अवस्था नजिकैबाट अध्ययन गरेर मात्र ठोस निर्णय लिइने बताउनुभयो । उहाँले भन्नु भयो – “ केही समय पछि हामीले स्थलगत अध्ययन गरेर क्षतिको पूर्ण विवरण सङ्कलन गर्दैछौँ । त्यसपछि मात्र उचित योजना बनाई निर्णय गर्ने छौँ ।”
स्थानीयवासीले भने तत्काल पहिरो नियन्त्रण र ढल व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् । ढिलो भए गमगढी बजारसँगै सोरु गाउँपालिका जाने बाटो समेत पूर्णरूपमा अवरुद्ध हुने खतरा रहेको उनीहरूको चेतावनी छ ।








प्रतिक्रिया राख्नुहोस्