जयपृथ्वी क्याम्पसमा पत्रकारिता स्नातक कार्यक्रम सुरु
बझाङ । बझाङ जिल्लामा रहेको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको एक मात्रै आङ्गिक क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पसले असोज महिना देखि चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरु गर्ने भएको छ ।
पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरूको आकर्षण बढेको र उक्त भेगका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको औँल्याउँदै क्याम्पसले भर्ना सुरु गरेको जयपृथ्वी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लाल बहादुर बोहराले बताउनुभयो ।
बोहराका अनुसार अहिले पनि बजारमा पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोले स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरु गरिएको हो । सही पत्रकारिताले मात्र समाजलाई सही बाटोमा लैजान सक्ने उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, ‘पत्रकारिता विषय सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान, सिपसँग जोडिएको छ । बजारको माग अनुसारको जनशक्ति उत्पादन गरी ‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोडिनेछ ।’
‘क्लासरूम लाई ‘न्युजरुम’सँग जोड्नको लागि पत्रकारितामा स्थापित र पत्रकारिता शिक्षामा अनुभवी प्राध्यापकहरूबाट पठनपाठन हुने उहाँले बताउनुभयो । भर्नाको लागि सूचना समेत प्रकाशित भइसकेको क्याम्पसले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्