तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा र कास्की क्षेत्रको खेल प्रवर्द्धन गर्न कोरियाको चियोङ योङ काउन्टी खेलकुद समितिबिच सम्झौता

पोखरा । पोखरा सहित कास्की क्षेत्रको समग्र खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका, जिल्ला खेलकुद समिति कास्की र गणतन्त्र कोरियाको चियोङ योङ काउन्टी खेलकुद समितिबिच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

मङ्गलवार पोखरा महानगरको सभाहलमा आयोजना भएको सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चियोङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ सियोकले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

समारोहमा पोखराका मेयर धनराज आचार्य, परियोजना संयोजक तोरण बहादुर बानिया, सहसंयोजक प्रकाश उदास, खेल विज्ञ एवं अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो । 

सम्झौतामा खेलाडी आदान–प्रदान, प्रविधि र उपकरणमा सहकार्य, सीप विकास, मैत्रीपूर्ण प्रतियोगिता आयोजना लगायतका विषय समेटिएका छन् । फुटबल, बक्सिङ, टेबल टेनिस, टेनिस, एथलेटिक्स, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, म्याराथन लगायतका खेलको विकासका लागि सम्झौता सहयोगी हुने भएको पोखराका मेयर धनराज आचार्यले जनाउनुभयो । 

चेओङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले युवा खेलाडी आदानप्रदान, विद्यालय स्तरका कार्यक्रम सञ्चालन, खेल संस्थाको सीप विकास र सम्भाव्य क्षेत्रहरूको पहिचानमा सक्रिय रहन तयार रहेको बताउनुभयो । पोखराका खेलाडीलाई उन्नत प्रविधि र नयाँ प्रशिक्षण विधिबाट सशक्त बनाउन सहयोग गर्ने उहाँले जनाउनुभयो । 

यसैगरी, जिल्ला खेलकुद विकास समिति कास्की र चेओङ योङ काउन्टीबिच पनि समान प्रकृतिको समझदारी भएको छ । 

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय पदक धारी खेलाडी गणेश बहादुर भट्टराई, वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँ लगायतले तपाईँका खेलाडीलाई अन्तर्राष्ट्रिय पहुँच दिलाउन यस सम्झौताले ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button