तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक तीज भाकाहरू हराउँदै गएकोप्रति प्रदेश प्रमुखको चिन्ता

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली मौलिक तीज भाकाहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै पछिल्ला वर्षहरूमा सुसभ्य तीज गीत सुन्नै मुस्किल भएको गुनासो गर्नुभएको छ । 

पोखराको मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको ११ औँ मालेपाटन तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आधुनिक मोडल र पश्चिमी शैलीमा बनेका विकृत गीतहरूले नेपाली परम्परागत तीज गीतहरूलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो ।

‘निराहार व्रत बस्नुअघि माइतमा खाइने दर अहिले हप्तौँ अगावै होटल–पार्टी प्यालेसमा खाने प्रचलन बढ्दो छ । त्यस्तै, सुसभ्य तीज गीत सुन्नै मुस्किलको अवस्था छ,’ प्रदेश प्रमुख भट्टले भन्नुभयो, ‘यस्तो परिस्थितिमा सूर्यचन्द्रले आयोजना गरेको प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ तीज मात्र नभई हरेक पर्व हाम्रो संस्कृतिको पहिचान रहेको भन्दै मौलिकता जोगाउन युवा पुस्ताले अग्रसर हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । समयसँगै संस्कृतिको नराम्रा पक्ष सुधार्नुपर्ने तर यसको मूल्य, मान्यता र पहिचान भने जोगाएर राख्नुपर्ने प्रदेश प्रमुख भट्टको भनाई छ ।

सूर्यचन्द्र विकास समाजले स्थापना (२०५१ साल) यता साहित्य, कला र संस्कृतिको धरोहर बनेर विभिन्न क्षेत्रमा योगदान दिँदै आएको स्मरण गर्दै उहाँले संस्थाले साहित्यिक सम्मेलन, कला–संस्कृति प्रवर्द्धन, दुर्व्यसन न्यूनीकरण, स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पुस्तकालय स्थापनाजस्ता कार्यले समाजलाई सकारात्मक दिशा दिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button