तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको गौरापर्व भदौ १२ गतेदेखि सुरु हुने

डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान् पर्व गौरा यो वर्ष भदौ १२ गतेबाट सुरु हुने भएको छ । 

 भदौ १२ गते बिरुडा पञ्चमीका दिन बिरुडा भिजाएर गौराको सुरुवात गरिने स्थानीय संस्कृतिका जानकार आचार्य लक्ष्मीप्रसाद भण्डारीले बताउनुभयो ।   बिरुडाले गौरादेवीको पूजाआजा गरेर गौरा पर्वको सुरुवात हुने जनाएको छ । गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकार अन्नलाई बिरुडा मान्ने प्रचलन रही आएको छ । 

 बिरुडा पञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ । भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको ज्योतिष पण्डित भण्डारीले बताउनुभयो । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ । कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको उनको भनाई थियो । गौरामा व्रतालु महिलाहरूले विशेष प्रकारको धागो अर्थात् दुबधागो लगाउने प्रचलन रहेको छ ।

 विवाहित महिलाहरूले दुबधागो धारण गर्ने गरेका छन् । नयाँ दुबधागो लगाउनेहरूका लागि पनि शुक्ल पक्षमा परेको गौरालाई शुभ मान्ने गरिएको स्थानीय संस्कृतिका जानकार देवराज भट्टले बताउनुभयो । 

 गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन रही आएको छ । यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ । 

 बिरुडा पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारा लगेर धुने प्रचलन रही आएको छ । 

अमुक्ताभरण सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । धान खेतबाट साँवा, अपमार्ग लगायतका वनस्पतिहरू ल्याएर गौराको प्रतिमूर्ति बनाउने प्रचलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो । यो वर्ष भदौ १५ गते अठ्यावाली परेको छ । अठ्यावालीका दिन व्रतालु महिलाहरूले गौरा खलामा गौरादेवीको पूजाआजा गर्ने गर्दछन् । 

 गौरामा गाईने फाग र सगुन गाउँदै बिरुडाले गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको परशुराम नगरपालिका पण्डित अम्बादत्त पन्तले बताउनुभयो । अठ्यावालीका दिन दिनभरि गौरा देवीको पूजाआजा गरेर व्रतालु महिलाहरूले दुबधागो धारण गर्ने गर्दछन् । 

 गौरा माताको प्रसादको रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्,छोराछोरी, आफन्तजनहरूको टाउको पुज्ने चलन रही आएको छ । लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रही आएको छ । 

गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेश अनुसार देवीदेवताका गाँथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । 

गाउँघरमा यो वर्षको गौरा पर्वको रौनक सुरु भइसकेको छ । विभिन्न कामको सिलसिलामा घर बाहिर रहेकाहरू पनि घर फर्कने क्रम बढेको छ । परदेशीहरू पनि गौराका लागि घर फर्कन थालेको स्थानीयवासी कर्णबहादुर धामीले जानकारी दिनुभयो । नेपाल र भारत सीमाका नाकाहरूबाट दिनहुँ सयौँको सङ्ख्यामा घर फर्किरहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button