पूर्वराष्ट्रपति भण्डारीद्वारा तीज पर्वको शुभकामना
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्व २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएकाे छ।
भण्डारीले मंगलबार जारी सन्देशमा तीज पर्वलाई नेपाली महिलाहरूको जीवनशैली, संस्कृति र सहिष्णुतासँग जोडिएको उज्ज्वल परम्परा भएको उल्लेख गर्नुभएकाे छ। उहाँले विवाहित महिलाहरूले जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्थाले यस पर्वलाई अझ विशेष बनाएको बताउनुभयाे।
उहाँले विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइने भन्दै, चेली र माइतीबीचको आत्मीयता तथा पारिवारिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्वको विशेषता रहेको उल्लेख गर्नुभयाे।
भण्डारीले तीजलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण गर्ने मञ्चका रूपमा लिन सकिने बताउँदै विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा यस पर्वले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयाे।
पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको भड्किलोपन र खर्चिलोपनप्रति चिन्ता व्यक्त गर्दै उहाँले पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्नेमा जोड दिनुभएकाे छ।
भण्डारीले तीज पर्वले समाजका सबै क्षेत्रमा महिलाको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्ने तथा सामाजिक–सांस्कृतिक एकता र पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयाे।
प्रतिक्रिया राख्नुहोस्