कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै
काठमाडौँ। मदन पुरस्कार विजेता कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘कल्प’ सार्वजनिक हुन लागेको लम्सालले जानकारी दिनुभयो ।
डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेका डा लम्सालले ‘कल्प’का लागि झण्डै पाँच वर्ष खर्चेको बताउनुभयो ।
महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सीपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ ।
कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्पमा वैश्विक चेतना भेट्न सकिन्छ । “कल्प नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आकलन गरे लेखेको काब्य हो”, उहाँले भन्नुभयो, “विषयवस्तु, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेमा मेरो विश्वास छ ।” उहाँले कल्पले आजको विश्वको समस्यामाथि बहस प्रारम्भ गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताउनुभएका डा लम्साल विगत ४० वर्षदेखि गीत र कविता लेखनमा क्रियाशील छन् । लम्सालको यो चौथो महाकाव्य र नवौँ कृति हो । डा लम्सालले अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्