भरतपुरमा डेंगी नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान

चितवन । भरतपुर महानगरपालिकामा डेंगी नियन्त्रणका लागि लार्भा खोज र नष्ट र अभियान चलाउन शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नं २ ले वडाभित्र डेङ्गी रोग नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गरौँ अभियान शुरु गरेको हो ।
वडाध्यक्ष मनोज रानाभाटले वडामा डेङ्गी रोग नियन्त्रण गर्नको लागि सचेतनामूलक जस्ता कार्यक्रम भइरहेको बताए । उनले टोल टोल र जोखिम स्थानमा खोज र नष्ट अभियानलाई तीव्र पारिएको बताए ।
‘खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत बनाउने काम भइरहेको छ’ वडाध्यक्ष रानाभाटले भने, ‘वडामा सरसफाइका कामलाई पनि तीव्र पारिएको छ, लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने काम भइरहेको छ ।’
पछिल्लो समय चितवन जिल्लामा डेङ्गुको प्रकोप बढेका कारण वडावासीलाई सावधानी अपनाउनसमेत आग्रह गरिएको छ । भरतपुर २ मा रात्रिकालीन बजारसमेत सञ्चालनमा आएको हुनाले स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणमा वडाका कार्यक्रम बढी केन्द्रित भएको वडाध्यक्ष रानाभाटले बताए ।
भरतपुरका अन्य वडाहरूमा पनि अभियान चलाइने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
डेङ्गी रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।
केही स्वास्थ्यसँग सम्बन्धित रहेका संस्थाहरूको समन्वयमा पनि वडामा गतिविधिहरू भइरहेका छन् । यस अभियानमा वडाले टोल विकास संस्थाहरूलाई समेत परिचालन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्