तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रीय सुरक्षा समिति बैठक: वीरगञ्जमा चिकित्सक टोली परिचालन गर्ने निर्णय 

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ । 

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले  जानकारी दिनुभयो । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन पनि दिनुभयो । “आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ”, प्रवक्ता काफ्लेले भन्नुभयो । 

गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा मुलुकको शान्तिसुरक्षाको समीक्षा भएको थियो । 

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्ज हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ । 

स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button