सार्वजनिक सेवा प्रसारणमा तीजको शुभकामना आदान प्रदान
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजन कर्मचारी युनियनले आज तीजको शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीजको सांस्कृतिक पक्षलाई सम्मान गर्दै अहिलेको समय अनुकूल परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।
तीजका केही परम्परागत चलनले महिला सशक्तीकरणमा बाँधा पुग्नेमा सचेत रही यसलाई जर्गेना गर्नुपर्नेमा उपाध्यक्ष शाक्यले जोड दिनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले तीज नेपालको संस्कृति तथा पहिचान भएर विश्वभर चिनिएको बताउनुभयो ।
सञ्चार सचिव अर्यालले सार्वजनिक सेवा प्रसारणको विनियमावली सबैलाई समेट्ने गरी आउनेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले तीज धार्मिक, पारिवारिक मिलन तथा महिला सशक्तीकरणको भूमिका खेल्ने पर्व भएको उल्लेख गर्नुभयो ।
नेपाल टेलिभिजनभित्रका धेरै पहिलेदेखि रोकिएका कामहरू सम्पन्न भएका उल्लेख गदै उहाँले आगामी दिनमा पनि अधुरा कामहरू अगाडि बढाइने बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले तीजको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै कर्म र व्यवहारमा विश्वास गरेर सचेतनासहित अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्