तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा हैजा फैलिँदै, अस्पतालमा बिरामी थपिँदै

वीरगन्ज। वीरगन्जमा हैजा (कोलेरा) समुदायस्तरमै फैलिएको छ। शुक्रबार पहिलोपटक वडा नं. १२ मुर्ली टोलका तीन जनामा संक्रमण देखिएकोमा शनिबार रातिसम्म संक्रमितको संख्या बढेर ३६ पुगेको छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वडा नं. ३, ११, १२, १३ र ३० मा संक्रमित भेटिएका छन्। नारायणी अस्पतालमा १३, तराई अस्पतालमा १२, नेशनल मेडिकल कलेजमा ५, अलि अर्थो सेन्टरमा ४ र भवानी अस्पतालमा २ जना बिरामी उपचाररत छन्। वीरगन्जका विभिन्न अस्पतालमा हाल झाडापखाला र हैजाका शंकास्पदसहित २०० भन्दा बढी बिरामी छन्।

नारायणी अस्पतालमा शैयाको अभाव भएपछि बिरामीलाई बरण्डामा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो।

महामारी नियन्त्रणका लागि वीरगन्ज महानगर, पर्सा स्वास्थ्य कार्यालय, मधेस प्रदेश सरकार र संघीय सरकार सक्रिय छन्। महानगरले ८ र ९ भदौमा सबै विद्यालय बन्द गर्ने, पानीपुरी, चाट, चटपटे आदिको बिक्रीमा रोक लगाउने निर्णय गरेको छ। मेयर राजेशमान सिंहले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीका २५ टोली परिचालन गरिएको जानकारी दिनुभयो।

खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौंबाट मोबाईल भ्यानसहितको टोली पानी परीक्षणमा खटिएको छ भने प्रदेश सरकारका स्वास्थ्य टोली पनि प्रभावित क्षेत्रमा पुगेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button