गणतन्त्रविरुद्ध सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको छ : मुख्यमन्त्री बानिँया

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गणतन्त्रपछि स्थापित भएको विकासको बाहकको रुपमा रहेको प्रदेश सरकारको विरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था विरोधी सामाजिक सञ्जाल प्रयोगकर्ता उद्धत रहेको बताउनुभएको छ ।
शनिबार मुख्यमन्त्री भएपछि पहिलोपटक सिन्धुपाल्चोकको मेलम्ची पुग्नुभएका बानियाँले राम्रा सञ्चारकर्मीले गणतन्त्र ल्याउनका लागि महत्वपूर्ण भूमिका खेले पनि अहिले फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालबाट यो व्यवस्था मन नपर्नेहरूले बदनाम गराउन थालेको बताउनुभयो ।
उहाँले हिजोको तानाशाह, पञ्चायतका पक्षधरहरूलाई अहिले जनताले पाइरहेको प्रत्यक्ष सेवा, सुविधा बिकास निर्माणलगायतको गणतान्त्रिक व्यवस्था केही मानिसहरूलाई मन नपरेकोले यो व्यवस्थाको विरुद्धमा लागिरहेको जिकिर गर्नुभयो । उहाँले व्यवस्था विरोधीहरूले गाउँ गाउँमा पुगेको सडक, पुल, शिक्षा, स्वास्थ्य, सञ्चार सुविधाहरू जनताले पाएको हेर्न नचाहेको बताउनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बागमति प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानिँया, स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री, प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, नवौँ एसिया गोजुरियो कराते प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी करीना पुरी, नेपाल आइडल सिजन ६ को फाइनलिष्ट प्रतियोगी कलाकार गंगा सोनाम तथा आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक विजेता ११ बर्षीय खेलाडी शशाङ्क तामाङलाई थप कर्तव्यनिष्ठ र हौसलाको लागि बधाई तथा सम्मान गरिएको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।
यसैबिच, कांग्रेस क्षेत्र नम्बर २ ले मुख्यमन्त्री बानियासहित काँग्रेसबाट नियुक्त भएका मन्त्रीहरूलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरिएको छ ।
आजै मेलम्ची हब मेलम्चीमा एक कार्यक्रमका बीच कांगेसका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्