समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन मन्त्री खड्काको आग्रह
सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियन सङ्खुवासभाले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टीकाटिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले कानुनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
सङ्खुवासभाको सन्दर्भमा उहाँले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गर्नुभयो । सङ्खुवासभा अन्तर देशीय त्रिदेशीय मार्गको सामरिक महत्त्व रहेको बताउँदै उहाँले यसले नेपालको समृद्धिमा मात्र नभई त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले किमाथाङ्का नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
प्राकृतिक स्रोत वायु, पानी र सौर्यमाथि प्रत्येक नागरिकको समान अधिकार रहने जनाउँदै मन्त्री खड्काले सरकारले विपन्न वर्गलाई बिना धितो रु पाँच लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको उल्लेख गर्नुभयो । ती वर्गलाई समेटेर राष्ट्रसँगै समृद्धिको बाटोतर्फ अघि बढाउने यात्रा आरम्भ भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्