हैजाको सङ्क्रमण बढ्दै गएपछि २ दिनका लागि विद्यालय बन्द
वीरगन्ज । वीरगन्ज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि महानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार, भाद्र ८ र ९ गते (आइतबार र सोमबार) विद्यालयहरूको पठनपाठन स्थगित गरिएको छ । हैजाको जीवाणु दूषित पानी र खानाबाट सर्ने भएकाले बालबालिकामा सङ्क्रमणको जोखिम बढी हुने भएपछि विद्यार्थीलाई सुरक्षित राख्न यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
यसैबिच वीरगन्ज महानगरपालिकाले सबैलाई सङ्क्रमणबाट जोगिनका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । पानी उमालेर मात्र पिउन, शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुन, सरसफाइमा ध्यान दिन र काँचो तरकारीलाई राम्ररी धोएर मात्र खान सुझाव दिइएको छ ।
यता वीरगन्जका अस्पतालहरूमा आज अपराह्न सम्म परीक्षण गरिएका झाडा पखालाका बिरामी मध्ये २८ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सङ्क्रमण वीरगन्ज महानगरपालिका वडा नम्बर ११, १२ र १३ मा फैलिएको छ । विशेष गरी वडा नम्बर १२, मुर्लीको नयाँ टोलबाट सङ्क्रमणको सुरुवात भएको थियो । एकैसाथ सङ्क्रमण पुष्टि भएसँगै जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरी घर–घरमा बिरामीको खोजी, परीक्षण र जनचेतनामूलक गतिविधि तीव्र बनाएको छ ।
महानगरपालिकाले सङ्क्रमण फैलन नदिन कडा कदम चालेको छ । अर्को सूचना जारी नभएसम्मका लागि भाजा, चटपटे, पानीपुरी लगायत ‘स्ट्रिट फुड’को बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
यता वीरगन्जको नारायणी अस्पतालमा झाडा पखालाका बिरामी राख्ने ठाउँ नभएपछि भुँइमै राखेर उपचार गराइएको छ । बिरामीले अस्पताल भरिएपछि नगर प्रमुख राजेश मान सिंह सहितको टोलीले स्थलगत अवलोकन गरी बिरामीको अवस्था र उपचारको बारेमा जानकारी लिएको छ ।
महानगर प्रमुख सिंहले चिकित्सकहरूसँग समन्वय गर्दै अस्पतालमा थप बेड र उपचार सुविधा सुनिश्चित गर्ने पहल गर्नुभएको छ । उहाँले हैजाको नियन्त्रण र उपचारलाई प्राथमिकतामा राख्दै महानगरपालिकाको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्