महाकाली नदीमा पुनः पानीको बहाव बढ्यो, बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवागमन बन्द
कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव पुनः तीव्र गतिमा बढेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिवार बिहान नदीमा पानीको बहाव १ लाख १९ हजार ९३३ क्युसेक मापन गरिएको थियो भने दिउँसो बढेर १ लाख ७० हजार ६०६ क्युसेक पुगेको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै नदी तटीय बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

यसै क्रममा नदीमा पानीको बहाव बढेपछि भारतीय प्रशासनले सुरक्षाको कारण देखाउँदै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बनबासा पुलमार्फत चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाएको छ । तर दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुको आवागमन भने यथावत् रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वर्षायाममा महाकाली नदीमा बहाव बढ्नु सामान्य भए पनि १ लाख क्युसेकभन्दा बढी पुगेपछि सतर्कताका लागि चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्