तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रूपमा  आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले  नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टीकृत उपचार केन्द्रका रूपमा विभाजन गरिएको जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर नै आधारभूत र विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गरिएको उहाँको कथन थियो । संविधानले व्यवस्था गरेअनुसार स्थानीय निकायले आधारभूत स्वास्थ्य दिनुपर्छ भन्दै पालिकाले आफ्नो १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पौडेलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मागअनुसार  आगामी दुई दिनमा एमबिबिएसको ३० वटा सिट थप हुने जानकारी दिँदै अन्य सरकारी शिक्षण अस्पतालले सिट थपका लागि कुनै माग नगरेका बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button