तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा हैजा फैलियो, महानगरको आपतकालीन अभियान शुरु

वीरगञ्ज । वीरगन्जमा हैजाको संक्रमण समुदाय स्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका तीव्र रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ । 

शुक्रबार राति मुर्ली टोल वडा नं. १२ का बासिन्दामा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। शनिबारसम्म आइपुग्दा हैजा वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ । 

यसबीच शनिबार महानगरले यहाँ सञ्चालित अस्पतालका सञ्चालकहरूसँग बैठक गर्दै संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ ।  महानगर प्रमुख राजेशमान सिंहले सङ्क्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिँदै प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड दिनुभएको छ ।

महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ । अहिले वीरगन्जको १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ र त्यहाँ घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको छ । 

यसै क्रममा महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउन विशेष पहल गरेको छ । हेल्प डेस्क मार्फत नागरिकलाई हैजासम्बन्धी जानकारी, उपचारका लागि आवश्यक समन्वय, र आपतकालीन सम्पर्क सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले समुदाय स्तरमै निगरानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button