साफ फुटबल : नेपाल विजयी

काठमाडौँ । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ(साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो ।
यता भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।
आज खेलको पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो । नेपालको लागि साहरा लिम्बूले गोल गरिन् । त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् । खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो ।
प्रतिक्रिया राख्नुहोस्