डढेलोबाट वन विनाश कम गर्न महिलाहरूको सक्रियता
कविराज कार्की मुगु ।
२०८१ साल चैत्र १४ गते बिहान ९ बजे । कर्णाली प्रदेशको मुगुको सदरमुकाम गमगढीका महिलाहरू अरू दिनझैँ आफ्ना चौपायालाई स्याउला लिन गमगढी पारीपट्टिको भदाली गयलदेव सामुदायिक वनतिर लागे । समयमै घर फर्कने सल्लाहले हिँडेका छायानाथ रारा नगरपालिका १ बस्ने वर्ष ५३ की असला मल्ल र वर्ष ५७ की धनपुरा नेपालीसहितका ६ जना महिलाहरू स्याउला सङ्कलनमा व्यस्त हुनुभयो । तर, स्याउला सङ्कलन गर्दै गरेका बेला करिब साँढे १० बजेतिर एक्कासि आगाका लप्काहरू देखेपछि भने तिनका सातो पुत्लो उड्यो । वनमा भएका साना पोथ्रा तथा घाँस स्याउला खरानी बनाउँदै आफूतिर बढेको देख्दा ती महिलाहरू आफूहरू आज पक्कै मरिने भइयो भन्दै आत्तिए, तर उनीहरूले होस गुमाएनन् । हतारहतारमा हरियो स्याउला काटेर एक सुरमा निभाउन थालेपछि र निकै बेरको प्रयासपछि उनीहरू डढेलो निभाउन सफल भए ।
“आगो निभाई सकेपछि धन्न आज हामी बाँच्यौँ भन्ने भयो,” मल्लले आफ्नो अनुभव सुनाइन् । “थोरै भए पनि वन जोगायौँ भन्ने पनि भयो,” उनले गहिरो सास फेर्दै भनिन् ।

वनमा आगो लाग्दा पुरुषहरू खासै चासो देखाउँदैनन् किनभने घाँस दाउराको जोहो गर्ने जिम्मा महिलाहरूको काँधमा भएको उनीहरूको अनुभव छ । बस्तीनजिकको वनमा आगो लाग्ने बित्तिकै सबैभन्दा बढी पिर हामी महिलाहरूलाई लाग्ने गर्छ, उहाँहरू भन्नुहुन्छ । पुरुषहरू कोही जागिरे, कोही व्यापारी त कोही हिउँदको समयमा भारततिर रोजीरोटीका लागि कामको खोजीमा जाने भएकाले गाउँमा प्रायः महिला तथा ज्येष्ठ नागरिक र बालबच्चा मात्र हुने भएकाले पनि वनमा आगो लाग्ने बित्तिकै निभाउने जिम्मा महिलाको काँधमा आइपर्छ । घरमा भएका पशु चौपायालाई घाँस र स्याउला र खाना पकाउन दाउरा वनबाटै ल्याएर गुजारा चलाउनु पर्ने भएकाले पनि डढेलोबाट वन जोगाउन ज्यान जोखिममा पारेर आगो निभाउन लागिपर्छन् मुगुका महिला ।
बर्षेनी आगो लगाउने क्रम घट्नुको साटो बढ्दै जान थालेकाले काठ दाउरा र घाँसपातको जोहो गर्न यहाँका गृहिणी महिलाहरूलाई दिन प्रतिदिन सकस थपिँदै गएको छ भन्नुहुन्छ सोही पालिकाको वडा नं ११ रोवा गाउँका ५४ वर्षीय रामकृष्ण बुढा । गोठालाहरूले नयाँ घाँस पलाउने आशामा लुकीछिपी आगो लगाउने भएकाले त्यस्ता मान्छेको खोज तलास गरेर कडा सजाय दिने हो भने आगो लगाउने क्रम घट्न सक्ने उहाँ बताउनुहुन्छ ।

विशेष गरेर यहाँका भिरालो वनहरूमा आगो लाग्दा एकातिर निभाउनै कठिन र अर्कोतिर आगो निभाउने सुरक्षित साधन नहुँदा पनि आगो नियन्त्रण गर्न कठिन हुने गरेको भदाली गयलदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकजंङ्ग मल्लको भनाई छ ।
वन डढेलोका कारण
आगो विभिन्न तरिकाले लाग्ने गर्छ, विद्युतका तारहरू एकापसमा जुध्दा अथवा सटसर्किट हुँदा र चट्याङ्ग पर्दासमेत वनमा आगो लाग्ने गर्छ भने बाटामा हिँड्नेले ननिभाई चुरोटका ठुटा फाल्नाले पनि आगो टिप्ने गरेको डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजन अधिकृत ललित कुमार कर्ण बताउनुहुन्छ । आगो लगाउनेको खोजी गरेर कानुनी प्रक्रियामा ल्याउन एकातिर समुदायका मानिसहरूले थाहा पाएर पनि नाम नभनिदिने र यहाँका वनहरू सम्बन्धित बस्तीका समुदायलाई नै हस्तान्तरण गरिएकाले वन कार्यालयले कानुनी प्रक्रिया अघि बढाउन समेत असहज हुने गरेकोले हरेक वर्ष यहाँका सैयौँ हेक्टर वन आगलागीको चपेटामा पर्दै गएको डिभिजन वन अधिकृत कर्णको तर्क छ ।
‘हरियो वन नेपालको धन’ भनेर के गर्नु, मानिसहरूले वन जङ्गलको महत्त्व बुझेर पनि बुझ पचाएपछि पछिल्लो पिँढीलाई जीवन निर्वाह गर्न निकै कठिन अवस्था आइसक्यो भन्दै भावुक बन्नुहुन्छ खत्याड गाउँपालिका–८ सुकाढीक मुगुका ७३ वर्षीय धनलाल कार्की । आफू १५ वर्षको छँदा वनमा गाई चराउन जाँदा घोरल र च्याखुराका बथान यत्रतत्र भेटिने गरेको उनी सम्झन्छन् । पछिल्ला सन्ततिलाई घोरलको बारे बताउनु पर्दा बाख्राजस्तै तिखा सिङ भएको जनावरको उदाहरण दिनुपर्ने बेला आएको उनी तितो अनुभव सुनाउनुहुन्छ उहाँ ।
रारा ताल वरिपरिका वन पनि डढेलोको जोखिममा
मुगुको गमगढी नजिकका सामुदायिक वन मात्र होइन, यस भेगकै मुख्य आकर्षणको रूपमा रहेको रारा ताल वरिपरिका वनजंगल पनि डढेलोको जोखिमबाट अछुतो छैन । करिब १०,६०० हेक्टर क्षेत्र ओगटेको रारा राष्ट्रिय निकुञ्जमा समेत २०८१ फागुन १३ र १४ गते छायानाथ रारा नगरपालिकाको कैलाश बजेणी वन उपभोक्ता समितिको पिप्ल्याडी वनमा आगो लाग्दा नेपाली सेना, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिहरूको सक्रियतामा आगो निभाउँदा निभाउँदै पनि करिब ९० हेक्टर वन जलेर नष्ट भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर धर्म सावन्त बताउनुहुन्छ ।
२०७७ फागुन १८ र १९ गते पनि पिनागाँउ नजिकै रहेको ऋणमोक्ष मध्यवर्ती सामुदायिक वनमा आगो फैलिँदा विभिन्न तह र तप्काका मानिसहरूको सक्दो प्रयासका बाबजुद करिब २०० हेक्टर वन जलेर नष्ट भएको रारा राष्ट्रिय निकुञ्जका तत्कालीन निमित्त संरक्षण अधिकृत यज्ञ बहादुर रोकाया सम्झनुहुन्छ ।
सुन्दर रारा तालको छेउछाउमा सुख्खा मौसमका बेला आगो लाग्ने गरेकाले यहाँ भएका विभिन्न रुख बिरुवा र वन्यजन्तु समेत आगलागीबाट प्रभावित हुने गरेका छन् । ताल छेउछाउको जङ्गलमा कहिलेकाहीँ डढेलो लाग्दा राराको प्राकृतिक सुन्दरतामा ह्रास आउनुको साथै यहाँको जैविक विविधता समेत नष्ट हुने गरेको संरक्षण अधिकारीहरूको भनाइ छ ।

नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगुस्थित रारा ताल आसपासमा कहिलेकाहीँ आगलागीको उच्च जोखिम भएकाले आर्थिक वर्ष २०८१।०८२ मा निकुञ्ज क्षेत्रभरिका कर्मचारी, हनुमानधोज गुल्मका नेपाली सेना, मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिका अध्यक्षहरू, डुङ्गा सवारका बोटेहरू समेतलाई निकुञ्ज क्षेत्रलाई डढेलोबाट कसरी बचाउने र डढेलो लागिहाले पनि यथाशक्य कसरी नियन्त्रण गर्ने भनेर तीन दिने तालिम सञ्चालन गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताउनुभयो । साथै, निकुञ्जका सीमा क्षेत्रहरूमा डढेलो लगायतका वन विनाशसम्बन्धी जनचेतना जगाउने हेतुले सोरु गाउँपालिका ८ र छायानाथ रारा नगरपालिकाका मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिहरूलाई समेत एक दिने गोष्ठी सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८०।०८१ मा पनि डढेलो नियन्त्रणका लागि केही सामग्रीसमेत खरिद गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
जोखिममा मुगुका वन
डिभिजन वन कार्यालय मुगुकी अधिकृत बसन्ती बुढाका अनुसार तीन गाउँपालिका र एक नगरपालिका रहेको मुगुमा २० हजार ९ सय ७७ हेक्टर वन सरकारी र कबुलीयति व्यवस्थित वनले ओगटेको छ भने १०१ वटा सामुदायिक वनले ७ हजार ४ सय २२ र ९ वटा निजी वनले ४ सय १६ हेक्टर ओगटेको छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार ३ लाख ५३ हजार ५०० हेक्टर कुल क्षेत्रफलमध्ये ३ हजार ७ सय ७८ हेक्टर वन डढेलोको उच्च जोखिममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७७÷०७८ देखि २०८०÷०८१ सम्म ४ आ.ब.को वन डढेलोको क्रम घट्दो नभै बढ्दै गएको देखिन्छ ।
तालिका: आ.व. डढेलोले नष्ट क्षेत्रफल
२०७७/०७८ -६० हेक्टर
२०७८/०७९-५९ हेक्टर
२०७९/०८० -७० हेक्टर
२०८०/०८१ -११० हेक्टर
यस्तै क्रममा वर्षेनी वन डढेलोले वन विनाश हुँदै जाने हो भने मुगुमा पाइने विभिन्न जीव तथा वनस्पतिको अस्तित्व नै सङ्कटमा पर्ने देखिन्छ । पछिल्लो समय वन डढेलो, खडेरी, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण र विश्वभरि बढ्दो जलवायु परिवर्तनले वातावरणमा ल्याएको फेरबदलका कारण जीव तथा वनस्पतिमा प्रत्यक्ष असर पर्न थालेको संरक्षणविद्हरूको भनाइ छ ।
आगलागीले वन विनाश हुँदा एकातिर चौपायालाई चरनको अभाव हुनुका साथै मानिसका लागि घाँस दाउरा र स्याउला लगायत विभिन्न वन पैदावारको अभाव बढ्दै जान थालेको छ । डढेलोले चरन क्षेत्र नष्ट गर्नुका साथै वन जङ्गलमा आश्रित वन्यजन्तु र चराचुरुङ्गीको बास स्थानसमेत नष्ट गरिदिने भएकाले बिस्तारै यी लोप हुँदै जाने अवस्था आउन थालेको पाइन्छ । कतिपय जीवहरू आगो लागिरहेका बेलामा उम्कन नसकी जलेर मर्ने गरेकाले कतिपय प्रजाति लोप नै हुने क्रममा रहेका छन् ।
वन डढेलो नियन्त्रणका प्रयत्न
मुगु जिल्लाको सदरमुकाम समेत रहेको छायानाथ रारा नगरपालिकाका वन तथा ग्रामीण बस्तीहरूमा हुन सक्ने आगलागी जस्ता दुखद घटनाहरूलाई न्यूनीकरण गर्न नगर प्रहरीलाई आवश्यक तालिम दिएर ठाउँ र भूगोल अनुसार आगो निभाउन लगाउने गरेको छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम बताउनुहुन्छ । स्थानीय सामग्रीको प्रयोग गरेर आगो लागेको सूचना पाउनासाथ त्यसतर्फ जतिसक्दो छिटो आकस्मिक टोली पठाउने व्यवस्था गर्नुको साथै आगलागीबाट घरबास गुमाएका नागरिकहरूलाई तत्काल गाँसबासका लागी खाद्यान्न, एकसरो भाँडा बर्तन र लुगा कपडा उपलब्ध गर्न आपतकालिन कोष समेत खडा गरेको नगर प्रमुख भामको भनाइ छ । उहाँले आर्थिक वर्ष २०८०।०८१ मा अग्नि नियन्त्रणसम्बन्धी स्थानीय सामग्रीसमेत खरिद गरेर डढेलोको जोखिमयुक्त बस्तीहरूमा पठाएको जानकारी दिनुभयो ।
वनमा लागेको डढेलो नियन्त्रण गर्ने संस्थाको कार्यक्षेत्र भित्र नपर्ने भए पनि आगलागीबाट घरबार र पशु चौपाया समेत गुमाएका नागरिकलाई तत्काल गाँसबासका लागि आवश्यक खाद्यान्न, लत्ता कपडा र भाडावर्तन र आर्थिक सहयोग गर्नुका साथै आगलागीले जलेर अङ्गभङ्ग भएका घाइतेहरूलाई समेत उपचार खर्च समेत आफ्नो संस्थाले व्यहोर्ने गरेको मानव अधिकार तथा वातावरण विकास केन्द्र मुगुका कार्यक्रम प्रबन्धक नमराज रावत बताउनुहुन्छ ।
वन डढेलो नियन्त्रणको चुनौती देशैभरि
पछिल्लो समयमा दिन प्रति दिन लामो खडेरी पर्न थालेपछि हरेक वर्षको माघदेखि वैशाखसम्म नेपालका विभिन्न वनमा लाग्ने गरेको डढेलोको कारण दिन प्रतिदिन बिग्रिँदै गएको वायु प्रदूषणको स्तरले मानव जीवनमा नै सङ्कट निम्तिँदै जान थालेको छ । त्यसमाथि लामो खडेरी परेको समयमा वनमा घाँसपात र रुखका पातहरू समेत सुकेको अवस्थामा लागेको डढेलोले साना बुट्यान मात्र होइनन् ठुला रुखहरू समेत जलेर नष्ट हुने गर्छन् । एक पटक मात्र वनमा लागेको आगोबाट जलेका कुनै रुखहरू फेरी पलाउनै नपाएर सुक्ने गर्छन् । आगोको रापले जमिनको माटो तलैसम्म डढेको ठाउँमा एक खाले सेतो ढुसी जस्तै देखिएको ठाउँमा वर्षौँसम्म कुनै पनि बोटबिरुवा उम्रिँदैनन् ।
मुगु मात्र नभै देशका विभिन्न जिल्लाका थुप्रै बस्तीहरूमा आगलागीका घटना दिन प्रतिदिन बढ्दै जान थालेपछि सर्वत्र चिन्ता छाएको छ । आगो लगाउनेको खोजी गरेर कानुनको दायरामा ल्याउने कडा खाले कानुन नहुँदा पनि बर्सेनी यहाँका वनहरू डढेलोको चपेटामा पर्ने गरेका छन् ।
वनमा आगो लागेपछि एकातिर निभाउने उपयुक्त साधन नहुने र स्थानीयहरू सबैको आगो निभाउने चासोसमेत नगर्दा सानो आगोको झिल्कोबाट वन सम्पदा वर्षेनी नष्ट हुँदै गइरहेको छ ।
वन तथा भूसंरक्षण विभागका अनुसार नेपालको कुल क्षेत्रफलमध्ये ४४.७४ प्रतिशत (६४ लाख हेक्टर) भूभाग वन क्षेत्रले ओगटेको छ । हाल नेपालमा विभिन्न राष्ट्रिय निकुञ्ज, वन संरक्षण क्षेत्र, सामुदायिक तथा निजी वन सञ्चालनमा रहेको पाइन्छ । सङ्घीय सरकार लागु भएपछि नेपालभर ८४ डिभिजन वन कार्यालयहरू, ७४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू सञ्चालनमा आइरहेका छन् ।
वनसँग सम्बन्धित अन्य कानुनहरू निकै प्रभावकारी भए पनि डढेलो लगाउनेको पत्ता लगाएर कडा कारबाहीको व्यवस्था नहुँदा पनि चुनौती थपिएको वातावरण संरक्षणमा चासो राख्ने छायानाथ रारा नगरपालिका घट्टलेखका स्थानीय बुद्धिजीवी कृष्ण बहादुर सेजुवाल बताउनुहुन्छ ।
(यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो।)
प्रतिक्रिया राख्नुहोस्