इलाममा अपाङ्गता भएका नागरिकलाई घरदैलोमै परिचयपत्र वितरण
गाउँलेको अनुभव : ‘कागजका लागि धाउनु पर्ने दिन सकियो’
इलाम। इलाम माईजोगमाई गाउँपालिका वडा न-४, नामसालिङमा बिहानै गाउँको चोकमा हलचल थियो। गाउँपालिका उपाध्यक्ष प्रविना राईको नेतृत्वमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरूको टोली घर–घर पुग्दै थियो। उद्देश्य एउटै-अपाङ्गता भएका नागरिकको अवस्था बुझ्ने, स्वास्थ्य परीक्षण गर्ने र अधिकारका रूपमा प्राप्त हुने परिचयपत्र घरमै पुगेर वितरण गर्ने।

गाउँकै आँगनमा डाक्टर यसमिन शेर्पाले स्वास्थ्य परीक्षण गरिरहनुभएकाे थियाे। उता गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, वडा सदस्यहरू र कर्मचारीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै थिए। अपाङ्गता भएका व्यक्तिहरूलाई ‘कागजका लागि धाउनु पर्ने दिन अन्त्य भएको’ त्यो क्षण गाउँलेका लागि नयाँ अनुभव थियो।
यस पटक पाँच जनाले परिचयपत्र पाए, तीन जनाले रातो (पूर्ण अपाङ्गता) कार्ड र दुई जनाले निलो (अति अशक्त) कार्ड। परिवारजनका आँखामा भावुकता थियो, प्राप्त कर्ताको अनुहारमा खुसी झल्किएको थियो। परिचयपत्र केवल एउटा कार्ड होइन, उनीहरूको सम्मान र अधिकारको दस्ताबेज बनेको थियो।

उपाध्यक्ष प्रविना राई भनन्नुभयाे, “हामीले हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर परिचयपत्र मात्र होइन, आवश्यक सहायक सामग्री पनि वितरण गर्दै आएका छौँ। यसले उनीहरूको जीवनलाई सहज र आत्मसम्मानपूर्ण बनाउन मद्दत गर्छ।”
गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले थपे, “अपाङ्गता भएका नागरिक हाम्रो समाजको अभिन्न हिस्सा हुन्। उनीहरूलाई पहुँच र सेवा दिन सरकार आफैँ घरदैलोमै पुग्नु हाम्रो जिम्मेवारी हो। यसले उनीहरूलाई मात्रै होइन, हामी सबैलाई मानवताको पाठ पढाउँछ।”
स्थानीय सरकारको यस्तो पहलले गाउँको वातावरणलाई बदलेको छ। अपाङ्गता भएका नागरिकले अब आफू राज्यबाट बेवास्ता गरिएका होइनन् भन्ने अनुभूति गरेका छन्। घरदैलोमै गरिएको यस्तो परिचयपत्र वितरणले, अपाङ्गतालाई कमजोरी होइन, अधिकारका दृष्टिले सम्बोधन गर्न सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ।
प्रतिक्रिया राख्नुहोस्