तपाईँ सुन्दै हुनुहुन्छः

इँटा उद्योगबाट कम प्रदूषण हुने उपाय अपनाउन मुख्यमन्त्री सिंहको आग्रह 

जनकपुरधाम  । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा जलवायुमा आएको परिवर्तनको असर कम गर्न कम प्रदूषण हुने गरि इँटा उद्योग सञ्चालन गर्नका लागि आग्रह गर्नुभएको छ । 

मुख्यमन्त्री सिंहले नेपाल इँटा उद्योग महासङ्घ मधेश प्रदेश समितिको दोस्रो अधिवेशनको आज जनकपुरधाम उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरले नै मधेशमा यसवर्ष कम वर्षा हुनुका साथै तापक्रम बढ्न थालेकाले वातावरणमा कम क्षति हुने गरि इँटासहितको उद्योग सञ्चालनका लागि उपायहरू अपनाउनका लागि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले इँटा उद्योगमा श्रमिक तथा दक्ष मजदुरको अभाव भएकाले दक्ष जनशक्ति स्वदेशमा नै उत्पादनका लागि प्रशिक्षण सहितको कार्यक्रमहरू गर्नका लागि मधेश प्रदेशका घरेलु तथा साना उद्योगलाई निर्देशन दिनुभयो । 

उहाँले इँटा उद्योगमा अधिकांश मजदुरहरू भारतीय भएका कारणले नेपालको धेरै पूँजी बिदेसिने गरेको भन्नुहुँदै नेपाली श्रमिकलाई नै इँटा उत्पादनका दक्ष बनाएर काम गर्नका लागि अभिप्रेरित गर्न जरुरी रहेको बताउनुभयो । 

उहाँले मधेश प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउन थोरै कर लिनु प्रदेश सरकारको बाध्यता रहेको भन्नुहुँदै इँटा उद्योगको विकास तथा यसका उत्पादनको खपत बढाउनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले वातावरण प्रदूषण कम हुने उपायको अवलम्बन गर्नका लागि उद्योगीहरूलाई आग्रह गर्दै व्यवसायीलाई बढी करको बोझ दिँदा त्यसको मारमा आम उपभोक्ता पर्ने बताउनुभयो । 

नेपालमा दर्तामा रहेका १ हजार ३ सय ३९ इँटा उद्योग मध्ये मधेश प्रदेशमा मात्र ७ सय दर्ता रहेका छन् भने त्यस मध्ये ३ सय २० वटा सञ्चालनमा रहेका छन् । इँटा उद्योगमा ३ लाख मिस्त्री तथा मजदुरहरूले रोजगारी पाइरहेको र त्यसमा ९० प्रतिशत मजदूर भारतीय नागरिक भएको नेपाल इँटा उद्योग महासङ्घ मधेश प्रदेशका अध्यक्ष विजय कुमार  साहले जानकारी दिनुभयो । 

नेपाली दक्ष मजदुरको अभाव रहेकाले भारतीय मजदुरहरूले अवसर पाएको नेपाल इँटा उद्योग महासङ्घ मधेश प्रदेशले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button