जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता: मन्त्री पौडेल
धनगढी। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ।

आज धनगढी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा एक समारोहका बिच बालबालिकाहरूका लागि स्वर्ण विन्दु प्रासन खुवाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो ।
उहाँले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकद्वार प्रणालीको व्यवस्था गरेको बताउनुभयो।
मन्त्री पौडेलले सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याएर स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी, सुलभ र सहज बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

मन्त्री पौडेलले कैलालीको गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र आगामी मसान्तसम्म गेटामा मेडिकल चिकित्सा शिक्षा अध्ययनको तयारी सुरु भएको बताउनु भयो । मन्त्री पौडेलले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन भएर एमबिबिएस पढाइ सुरु भएमा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयका लागि सहज हुने बताउनुभयो ।
उहाँले आयुर्वेद उपचार सेवालाई विस्तार गरिनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्