गण्डकीमा दुई सय २१ जना ट्रेकिङ गाइड थपिए

कास्की । ट्रेकिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान) गण्डकीले पोखरामा ट्रेकिङ गाइड र पोटर गाइडको तालिम सम्पन्न गरेको छ । मङ्गलवार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
२ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ति पर्यटन क्षेत्रको महत्त्वपूर्ण अङ्ग रहेको बताउनु भयो । पाण्डेले नेपालको प्रचार प्रसार र प्रवर्द्धनमा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइडले राजदूतको भूमिका खेल्न सक्ने बताउनु भयो । ट्रेकिङ रुट मासिँदै गएकाले सरकारले वैकल्पिक रुट निर्माणका लागि बजेटको व्यवस्थापन गरेको पाण्डेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले तालिम प्राप्त पछि बजारमा दक्ष जनशक्ति आउनु खुसीको कुरा रहेको बताउनु भयो । प्रदेशको राजधानी भएकाले हामीले धेरै काम गर्न वाकी रहेकाले सबै सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने बस्यालले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले ट्रेकिङ रुटहरू मासिएकाले पर्यटकलाई कहाँ लैजाने भन्ने रणनीति बनाउनुपर्ने जोड दिनु भयो । त्यसका लागि नयाँ रुटहरू पहिचान गर्नुपर्ने भट्टराईको भनाई थियो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथुम को सहकार्यमा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवर्द्धनमा गएको जेठ २६ गतेबाट सुरु भएको तालिम करिब एक महिना सञ्चालन भएको थियो । पोखरा—६ बैदाममा रहेको ताल बराही माध्यमिक विद्यालयमा तालिम सञ्चालन भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पदयात्राका लागि दक्ष जनशक्ति पनि आवश्यक हुने बताउनु भयो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथुम का विभागीय प्रमुख अजय ढकालले तालिमबाट दक्ष जनशक्ति उत्पादन भएको र गण्डकी प्रदेशमा पदयात्रा व्यवसायमा थप परिष्कृत भएको बताए । सक्षम गाइडले पर्यटकलाई नेपालको बारे सरल तरिकाबाट बुझाउन सक्छ । जसको कारण अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको सकारात्मक चर्चा हुने ढकालले बताउनु भयो ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ट्रेकिङ जाने पर्यटकका लागि अनिवार्य ट्रेकिङ गाइडको व्यवस्थालाई लागू गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष आचार्यले ट्रेकिङ रुटहरूमा पदयात्रीका लागि सेल्टहरु आवश्यकता रहेको भन्दै नेपालको पर्यटनलाई विश्व बजारमा चिनाउनुको लागि प्रचारात्मक कार्यक्रम आवश्यक रहेको आचार्यको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्