तपाईँ सुन्दै हुनुहुन्छः

होचो भू-भागबाट एकै दिनमा माथिल्लो उचाइमा पुग्नु स्वास्थ्यका दृष्टिले जोखिम हुने 

पोखरा । तराई क्षेत्रबाट एकै दिनमा मध्य पहाडी हुँदै उच्च पहाडी भेगमा पुग्नु मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम हुने बुधवार पोखरामा आयोजित एक कार्यक्रममा व्यवसायीहरूले बताउनुभएको छ । पछिल्लो समयमा सडक बाटो राम्रो भएसँगै तराई क्षेत्रबाट एकै दिनको यात्रामा उच्च पहाडी भेगमा यात्रा गर्नु मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम हुने वक्ताहरूले दाबी गर्नु भएको हो । 

उच्च हिमाली क्षेत्रहरूमा घुमघामका लागि पुग्ने पर्यटकहरूलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधवार पोखरामा मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना र होटल सङ्घ पोखरा नेपालको समन्वयमा भएको छलफलमा वक्ताहरूले खासगरी पछिल्ला वर्षहरूमा नेपालको सीमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरू एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरूको ध्यानाकर्षण गराउन उक्त छलफल कार्यक्रम आयोजन गरिएको हो । 

समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाइमा रहेको तराई क्षेत्रबाट एकै दिन ३ हजार देखि ३५ सय मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरूले चर्चा गर्नु भएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुवै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको उहाँले बताउनु भयो । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराउनु भयो ।   

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामूलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो । यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने उहाँले प्रतिबद्धता जनाउनु भयो । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरूको बसाई अवधि लम्ब्याउन सकिने सुझाव दिँदै पोखरामा एउटा पूर्वाधारयुक्त सूचना केन्द्रको आवश्यकता रहेको बताउनु भयो । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्त्वपूर्ण विषय भएको उहाँको भनाई छ । 

होटल सङ्घ नेपाल गण्डकीका अध्यक्ष एवं होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाइमा पुर्‍याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराउनु भयो । 

आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकै पटक होचो भूभागबाट २८०० मिटरमाथिको उचाइमा पुग्नु जोखिमपूर्ण हुने दाबी गर्नुभयो । समतल ठाउँबाट आउने कतिपय पर्यटकले उचाइमा पनि उस्तै त होला नि भन्ने खालको शोच राख्ने गरेको उहाँको भनाई थियो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताउनु भयो । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्याङ्क दिँदै उहाँले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको बताउनु भयो । अन्नपूर्ण क्षेत्र साहसिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने उहाँको सुझाव थियो । 

एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपाली सहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक  एकजना नागरिक रहेको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरू पनि भारतीय पर्यटककै सङ्ख्या बढी रहेको छ । 

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेतनामूलक पुस्तिका वितरण गर्ने र आवश्यक ठाउँमा सूचनामूलक बोर्डहरू राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिबद्धता जनाउनु भयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाई राख्नु भयो । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुवै जरुरी भएको जनाउनु भयो । 

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यवसायी र समूहको पहिचान गरिनुपर्ने सुझाव दिनुभयो । टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव दिनुभयो ।  नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पर्यटकलाई छोटो समयमा उचाइमा पुर्‍याउँदा हुने जोखिमका बारे आफ्नो संस्थाले सरकारको ध्यानाकर्षण विगतमा गराइसकेको विषय स्मरण गराउनु भयो । कार्यक्रममा व्यवसायीले पर्यटक बोकेर जाने सवारी चालकको बोली बचन मर्यादित हुनुपर्ने विषय समेत उठान गर्नु भएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button