तपाईँ सुन्दै हुनुहुन्छः

कुवेतमा नेपाली श्रमिकहरूको निधन भएको विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले कुवेतमा नेपाली श्रमिकहरूको निधन भएको विषयमा ध्यानाकर्षण गराउँदै मृतकको शव ल्याउन भइरहेको प्रयास र उपचारको विषयमा सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । 

सांसदहरुले साउन ३० गते कुवेतमा विषाक्त रक्सी सेवन गर्दा १२ जना नेपाली कामदारको मृत्यु भएको तथा केही नेपाली अस्पतालमा उपचाररत रहेको र कामदारमाथि धरपकड शुरु भएको सूचना आएको भन्दै उनीहरूको सुरक्षाको माग गर्नुभयो ।

सांसदहरुले भूकम्प लगायतका विपद्बाट भत्किएका सबै खालका घरहरूको पुनर्निर्माणको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले चट्याङलगायत विपद्बाट निधन भएका परिवारलाई राहत दिन र सुरक्षा गर्ने विषयमा समयमा ध्यान दिन आग्रह समेत गर्नुभयो ।  

संसदहरुले संसद्, सरकार र संवैधानिक अदालतका गतिविधिहरूका कारण जनतामा असन्तोष प्रकट भइरहेको र यो विषय राज्यका लागि चुनौती भएको भन्दै यसतर्फ समयमा नै ध्यान दिन आग्रह गर्नुभयो 

सांसदहरुले तराई मधेशमा खानेपानी र सिँचाइको अभाव कायम रहेको समयमा शान्ती सुरक्षाको समेत चुनौती थपिएको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रजातन्त्र पार्टी (राप्रपा)ले अज पनि प्रतिनिधि सभा बहिष्कार गरेको छ ।

बैठकको सुरुमा सभामुखसँग समय माग गरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नयाँ दलहरूमाथि निषेध गर्न खोजिएको भन्दै सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाउनुभयो । 

प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोसन कार्कीले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन कांग्रेस–एमालेले शुरु गरेको खालि कागजमा हस्ताक्षर सङ्कलनबारे प्रश्न गर्नुभयो ।

बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाउँदै सांसद रोशन कार्कीले कस्ता कागजमा सही गराएको भनेर राख्नु भएको विषय संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । 

रास्वपा र राप्रपाका सांसदहरु आफ्ना विषय राखे लगत्तै सदनबाट बाहिरिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button