तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा सुविधा गरिबी रेखामुनि रहेका विपन्न वर्गका ज्येष्ठ नागरिकलाई: मन्त्री सुडी

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित र सम्मानित बनाउन आवश्यक सार्वजनिक महत्वका प्रस्ताव कार्यान्वयनका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले सामाजिक सुरक्षा सुविधा गरिबी रेखामुनि रहेका विपन्न वर्गका ज्येष्ठ नागरिकलाई केन्द्रित गरिनुपर्ने बताउनुभयो ।

सांसदहरूको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै मन्त्री सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सुरक्षा र सम्मान विरुद्ध जाने कुनै पनि कानुनको कार्यान्वयन नगरिने जानकारी दिनुभयो । 

बैठकमा सांसदहरूले ज्येष्ठ नागरिक सम्बन्धी नीतिको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र ज्येष्ठ नागरिकलाई  सम्मान तथा सुरक्षाका साथ परिवारसँगै बस्ने वातावरण सिर्जना गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले जन्मदर्ता नभएकाले एसइई तथा उच्च शिक्षामा अवसर नपाएका बालबालिकाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित हुनबाट जोगाउन मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभयो ।

बैठकमा मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले ज्येष्ठ नागरिकका ज्ञान र सिप संस्कृति संरक्षण तथा नीतिनिर्माणमा आवश्यक रहेको बताउनुहुँदै ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय नीतिको मसौदा तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button