तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न गभर्नर पौडेलको सुझाव 

सुर्खेत । नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्णालीमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ । 

राष्ट्र बैङ्क सुर्खेत कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको बैङ्क तथा वित्तीय संस्था तथा उद्योगी/व्यवसायी प्रतिनिधिहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा गभर्नर पौडेलले अनुत्पादक क्षेत्रमा लगानीभन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । 

उहाँले आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले मूल्य शृङ्खला विकासलक्षित लगानीलाई प्राथमिकता दिन सुझाव दिनुभयो । 

कार्यक्रममा राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले बैङ्क तथा वित्तीय संस्थाको लगानी कर्णालीको औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिनुभयो । 

छलफलमा उद्योगी/व्यवसायीहरूले कृषि क्षेत्रमा ऋण सहुलियत हुनुपर्ने, दीर्घकालीन कार्य योजनासहित आर्थिक विकास मात्र नभई सामाजिक–आर्थिक विकासलाई जोड्नुपर्ने औँल्याउनुभयो । 

बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले भने कर्णालीमा निजी क्षेत्रले ब्याजदर कम हुँदा कुनै योजना नबनाउने तर ब्याजदर बढी भए लगानी गर्न पाएनौँ भन्ने गुनासो गर्ने प्रवृत्ति रहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्का, सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा, नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख नीलप्रसाद लामिछाने, नेपाल बैंकर्स सङ्घ कर्णाली च्याप्टरका संयोजक सुरोज टण्डन, राष्ट्र बैङ्क सुर्खेतका निर्देशक शरणकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button