‘उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बन्चरे डाँडामा पूर्वाधार निर्माण भइरहेको छ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बन्चरे डाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी गराउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको लागि करिब ४० मिटर उचाइको बाँधमध्ये हाल २५ मिटर उचाइको निर्माण कार्य पुरा गरी महानगरलाई हस्तान्तरण गरिएको र त्यसको उचाइ बढाउन खरिद प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँले बन्चरे डाँडामा काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थित रूपमा विसर्जन गर्ने, फोहोर मैलाबाट उत्पन्न ब्याक्टेरियाहरूको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत् उत्पादन गर्ने, कम्पोस्ट मलको कारखाना स्थापना गर्ने, कच्चा पदार्थ प्रशोधन कारखाना स्थापना गर्ने र स्थानीय बासीको समस्या समान गर्नेजस्ता काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भौगोलिक रूपमा विकट र उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका गराउने र असहाय एवं सीमान्तकृत समुदायलाई बस्ती स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आइरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भूकम्प लगायत प्राकृतिक प्रकोपका कारण आवास विहीन भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अध्ययन भइरहेको र सम्बन्धित निकायहरूसँग समन्वय गरेर सम्बोधन गर्ने गरी सरकार अघि बढिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्