तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी मन्त्री यादव र सचिव ई बज्राचार्यबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यबिच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ ।

मन्त्रालयको सभा हलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नुभएको हो ।

सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिनुभयो ।

नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने आज गरिएको सम्झौताको मूल उद्देश्य रहेको मन्त्री यादवले बताउनुभयो ।

मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्‍याउन सचेत गराउनुहुँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउने गरी लाग्न सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

सचिव ई बज्राचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button