जुम्लामा डायलासिस सेवा सुरु, दुर्गमका बिरामीलाई राहत

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा सुरु भएको छ ।
मिर्गौला रोगीका लागि निकै महत्त्वपूर्ण र अत्यावश्यक मानिने डायलासिस सेवा जुम्लामै सुरु भएको हो ।
डायलासिस मेसिन स्थापना तथा उद्घाटन भएको दुई वर्षपछि सेवा पूर्ण रूपमा सञ्चालन आएको छ । जसले गर्दा विकट कर्णालीका नागरिकले राहत पाएका छन् । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले जुम्लामा २०८० साल भदौ १४ गते डायलासिस सेवाको शुभारम्भ गर्नुभएको थियो । तर उपकरण अभावलगायतका प्राविधिक कारणले सेवा सञ्चालनमा आउन सकेको थिएन । जसले गर्दा कर्णाली थुप्रै बिरामी मारमा परेका थिए । स्वच्छ पानीको पहुँच पर्याप्त रूपमा नपुगेको कर्णालीमा मिर्गौलाका बिरामीको सङ्ख्या उल्लेखनीय छ ।
पश्चिम नेपालकै भरोसा केन्द्रका रूपमा स्थापित कर्णाली प्रतिष्ठानमा उद्घाटन भए पनि डायलासिस सेवा नपाउँदा स्थानीय नागरिक महँगो खर्च गरेर नेपालगन्ज तथा काठमाडौँ जान बाध्य थिए । तर उद्घाटन भएको दुई वर्षपछि भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु भएको प्रतिष्ठानका उपकुलपति डा.पुजन रोकायाले बताउनुभयो ।
“कर्णालीका लागि डायलासिस सेवा सुरु हुनु महत्त्वपूर्ण उपलब्धि हो । यसको व्यवस्थापन र निरन्तर सेवा प्रदानमा हामी गम्भीर छौँ ।”, उहाँले भन्नुभयो, “हाल दुई वटा मेसिनमार्फत सेवा सुरु गरेका छौँ। बिरामीको सङ्ख्या बढ्दै जाने अनुमान भएकाले थप चार वटा मेसिन तयारी अवस्थामा राखिएका छन् ।’
मुगु बियारले पाइन पहिलो सेवा
उद्घाटन भएको दुई वर्षपछि सुरु भएको डायलासिस सेवा पहिलो पटक मुगुकी एक महिलाले पाउनुभएको छ । मुगु खत्याड गाउँपालिका वडा नं २ कि जिरकला बियारलाई पहिलो पटक डायलासिस सेवा प्रदान गरिएको हो ।
विगतमा यही सेवाका लागि जहाज चार्टर गरेर महँगो खर्च गरेर नेपालगन्ज काठमाडौँ पुग्ने नागरिकले अब जुम्लामै सेवा पाएपछि राहत महसुस गरेका छन् । जिरकला बियारका आफन्त भन्नुहुन्छ, “हामीले जुम्लामा मिर्गौलाको उपचार हुन्नकी सोचेका थियौँ । आर्थिक अभाव थियो । कसरी उपचार गर्ने तनाव थियो । तर जुम्लाकै मिर्गौलाको डायलासिस जुम्लामै भएपछि ठुलो राहत पाएका छौँ । यस्तो सेवालाई निरन्तरता दिनुपर्छ ।”
विगतमा औषधी मुलो राम्रो नपाइने कर्णालीमा अहिले डायलासिस जस्ता ठुलो सेवा सुरु हुनु खुसीको कुरा भएको जुम्लावासीले बताएका छन् । डा.पुजन रोकाया उपकुलपतिमा भर्खर नियुक्त हुनुभएको । उहाँ नियुक्त भए लगत्तै महत्त्वपूर्ण सेवा डायलासिस सुरु भएको हो ।
अब कर्णाली प्रदेशसहित पश्चिम नेपालका नागरिक मिर्गौलाको डायलासिसका लागि महँगो खर्च गरेर बाहिर जानुपर्ने छैन । सेवा नपाएर कर्णालीवासीले अकालमै मृत्युवरण पनि गर्नुपर्ने छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापाले डायलासिस सेवाले कर्णालीवासीले राहत पाउनुका साथै ठुलो धनराशि बचत हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्