तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार प्रसारण गर्ने सम्झौता 

पोखरा । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराबिच कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार प्रसारण गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विश्वबन्धु बगाले र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ति गुरुङले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार स्वास्थ्य गतिविधि र अन्तरवार्ता समावेश हुने कार्यक्रम पाक्षिक रूपमा दोस्रो र चौथो आइतबार बेलुकी ५.१५  देखि ५.४५ सम्म ३० मिनेट प्रसारण हुनेछ । 

त्यस अवसरमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा.विश्वबन्धु बगालेले विगतमा जस्तै आगामी कार्यक्रम पनि जनमानसलाई सुसूचित गर्दै स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रायोजित कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडीमय वेभ ६८४ किलोहर्ज का साथै एफ.एम ब्यान्डको ९८ मेगाहर्जमा गोर्खाको उपल्लो कोट, १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दिपुर, पर्वतको दुर्लुङकोटबाट साथै १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको बगनासकालीस्थित रिले स्टेसनबाट सुन्न सकिनेछ । 

यसका अलावा रेडियो नेपालको अनलाइन, मोबाइल एप, युट्युब, फेसबुक पेजबाट समेत प्रसारण हुने रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख शान्ति गुरुङले बताउनुभयो । सम्झौता कार्यक्रममा बोल्नुहुँदै कार्यालय प्रमुख गुरुङले प्रसारण हुने रेडियो कार्यक्रमबाट लक्षित वर्ग सुसूचित हुने बताउनुभयो । सम्झौता अनुसार हाम्रो स्वास्थ्य सरोकार कार्यक्रम २४ शृङ्खला प्रसारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button