अमरगढी किल्ला संरक्षणमा नेपाली सेनाको सक्रियता
डडेल्धुरा। डडेल्धुराको एक मात्र जीवित किल्ला अमरगढीको संरक्षण र संवर्द्धन अभियानमा नेपाली सेना सक्रिय भएको छ।

अर्जुबाण गण दह ब्यारेक डडेल्धुराले किल्लाभित्र ढुङ्गा छाप्ने र सुरुङ मार्ग निर्माण गर्ने काम सम्पन्न गरेको छ।
नेपाली सेनाको अर्जुन बाण गण दह ब्यारेक डडेल्धुराले झन्डै २५ लाखमा निर्माण सम्पन्न गरेको योजनाको फायल तथा प्रमाणपत्र सोमबार एक औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका पृतनापति माधव थापाले अमरगढी नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा पृतनापति थापाले किल्लाको सौन्दर्य र सम्भावित पर्यटकीय विकासमा सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख डिल्लीराज जोशीले नेपाली सेनाको सक्रियताले जीर्ण हुँदै आएको किल्लाको संरक्षणमा ठुलो सहयोग पुगेको उल्लेख गर्नुभयो।

अमरगढी किल्ला सन १८४७ मा गोर्खाली सेनापति अमरसिंह थापाले तत्कालीन कुमाउँ युद्ध र नेपाल राज्य विस्तारका लागि निर्माण गर्नुभएको ऐतिहासिक संरचना हो। यसलाई पुरानै स्वरूपमा फर्काउने अभियान अन्तर्गत भित्री र बाहिरी ढुङ्गाका संरचनाहरू पुनर्निर्माण गरिँदै छन्। सहरी विकास तथा भवन कार्यालयले नयाँ कोत घर निर्माण गर्दै छ, जहाँ युद्धमा प्रयोग भएका हतियार, अभिलेख र पुस्तकहरू प्रदर्शन गरिनेछन्।
अर्जुबाण गणका प्रमुख सेनानी उज्जल थापाका अनुसार, आगामी आर्थिक वर्षमा किल्ला परिसर बाहिर दैलेख र जितपुरस्थित गढीहरूको चिनारी निर्माण गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया राख्नुहोस्