परिणाम आउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ का लागि गृह सचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताउनुभयो ।
“लागुऔषध, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या यी विषय वर्तमान अवस्थाका नयाँ चुनौती हुन् । विशेष रूपमा काम भएको छ परिणाम आउन केही समय लाग्छ”, उहाँले भन्नुभयो, “यो वर्ष परिणाम दिने गरी काम गर्नुपर्छ ।” पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आङ्कलन गर्ने काम भइरहेको बताउँदै उहाँले चालु आवभित्र पुनः निर्माण सक्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइल स्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गर्नुभयो । “अहिलेको आवश्यकताअनुसार थप नयाँ काम के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्”, उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्छ ।” कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उहाँले जस/अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक अघि बढाइएको बताउँदै प्रतिनिधिसभामा केही प्राविधिक जटिलताका कारण रोकिएको गृहमन्त्री लेखकले बताउनुभयो । “पाइप लाइनमा रहेका कानुन/विधेयक यो महिनाभित्र प्रतिनिधिसभामा दर्ता गर्ने काम अगाडि बढाउनुस्”, उहाँले भन्नुभयो, “मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोहीअनुसार काम अघि बढेको छ ।”








प्रतिक्रिया राख्नुहोस्