तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीकोटमा खेलियो दहीको होली 

कास्की । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतबार  पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ। भगवान् श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा दही जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा दहीको होलीमा हजारौँ मानिसहरूको सहभागिता रहेको थियो। सांस्कृतिक रुपमा मनाउँदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् ।

 दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहीको होली कास्कीकोटमा मात्र रहेको धार्मिक क्षेत्र विकास समितिका सचिव  ठाकुर प्रसाद त्रिपाठीले दाबी गर्नु भयो ।

यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा  समेत निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदेखि नै नाचगान तथा जात्राहरू निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि  भोलि पल्ट दहीको होली  खेलेर पर्व मनाउने गरिएको त्रिपाठीले बताउनु भयो।

कास्कीकोटको भाद्रारी चोतारीमा स्थानीय जम्मा भएर दही छेपाछेप गर्ने गर्दछन् । घर घरबाट दही ल्याएर भाडामा जम्मा गरी भजन कृतन गरिन्छ ।  श्रीकृष्ण, राधा, कंशको भेषमा सजिएर  कृष्ण भजन गाइन्छ । दही जात्रामा विभिन्न सांस्कृतिक झाँकी बाजागाजा भजन कृतन समेत निकालिएको समितिका सचिव त्रिपाठीले बताए ।

दही छेपाछेप गर्नु अघि भाद्रारी चौतारोमा रहेको चापको रुखलाई श्रीकृष्ण मानेर अन्य देवि देवताहरूको पूजा गर्ने प्रचलन रहेको छ । त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले दहिले विभिन्न क्षेत्रपाल, चण्डी, बराहा, वहासा, मनकान्छी लगायत मन्दिरमा दहिले पूजा गर्दै हिँड्ने प्रचलन रहेको त्रिपाठीले बताउनु भयो ।

सचिव त्रिपाठीले भन्नु भयो – ‘यो परापूर्वकालदेखि सुरु भएको हो, १५२४ सालअघिबाट सुरु भएको इतिहासबाट सुन्न सकिन्छ । अहिले पनि यो जात्रा चलिरहन्छ ।’ नेपालका शाह राजाहरूको उद्गम थलो कास्कीकोटमा तत्कालीन राजाहरूको दरबार अझै छ । 

दही जात्रा विगत देखि सम्पदा संरक्षण मञ्च कास्कीकोट ,नेपाल वृन्दावन धाम , कश्यप कालिका युवा क्लब नेतृत्वमा रथयात्रा निकालिएको थियो । जात्रा कास्कीकाटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन भएको थियो ।  दही जात्रामा भजन चुट्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button