तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा भगवती जात्रा: ऐतिहासिक खट यात्रा आज

पाल्पा। पश्चिम नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक पाल्पा भगवती जात्राको खट यात्रा आज हुँदै छ। पाल्पाको तानसेनमा, श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथ बजार परिक्रमा गराउने प्रचलन छ।

नेपाल–अङ्ग्रेज युद्धमा नेपाली सेनाको विजयसँग जोडिएको यो जात्राको इतिहास वि.सं. १८७१-७२ को बुटवल जितगढी युद्धसँग सम्बन्धित छ। यस वर्ष २ सय ५औँ पटक यो जात्रा मनाइँदै छ। श्री ७ रणउजिरश्वरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्राको सम्पूर्ण तयारी पूरा भएको र यो भव्य रूपमा सम्पन्न हुने जनाएको छ।

तत्कालीन तैनाथवाला सेनाका कमाण्डर कर्णेल उजिर सिंह थापाले युद्धमा जानुअघि जित हासिल गरेमा तीनतले मन्दिर बनाउने र भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। युद्धमा विजयी भएपछि, कर्णेल थापाले वि.सं. १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवका रूपमा सिन्दूर यात्रासहित भगवती जात्रा मनाउन सुरु गरेका हुन्। ऐतिहासिक पाल्पा गौंडा र नेपाल–अङ्ग्रेज युद्धमा भएको विजयको खुसीयालीमा सुरु गरिएको यो जात्रालाई पाल्पाको गौरव र महत्त्वपूर्ण उत्सवको रूपमा लिइन्छ।

इतिहासविद्हरूका अनुसार, यो जात्रा तत्कालीन पाल्पा गौंडाका कर्णेल उजिरसिंह थापाले नेपाल–अङ्ग्रेजको जितगढी युद्धमा प्राप्त गरेको विजयको उत्सव हो। जितगढीको युद्धका लागि दल बलसहित तानसेनबाट हिँड्नुअघि कर्णेल थापाले तानसेन दरबार नजिकै रहेको भगवतीको प्रतिमा अगाडि “अङ्ग्रेजलाई जितेर फर्केमा जीर्ण मन्दिरको जीर्णोद्धार गरी सिन्दूर जात्राको परम्परा बसाउने” भाकल गरेका थिए। ६ महिनासम्म चलेको जितगढीको युद्धमा विजयी भएर फर्केपछि उनले नयाँ मूर्ति स्थापित गरी जात्राको परम्परा चलाएको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो।

कमजोर हतियार र कम संख्याका बाबजुद पनि नेपाली सेनाले बुटवलको युद्धमा अङ्ग्रेजलाई पराजित गरेको थियो। यो जात्रालाई पश्चिम क्षेत्रकै सबैभन्दा ऐतिहासिक जात्रा मानिन्छ, जुन अङ्ग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाएको जितगढी विजयको इतिहासको प्रतीक पनि हो।

भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीको साँझदेखि नै जाग्राम बसी नवमीको दिन दिउँसो स्थानीय भगवती मन्दिरबाट रथयात्रा सुरु गरिन्छ। रणउजिरेश्वरी भगवतीको रथले तानसेन नगरका विभिन्न भागमा भोग, बलि र फूल प्रसाद ग्रहण गरी साँझ मन्दिरमै विसर्जन गरिन्छ।

रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख र भक्तजनहरूको ठूलो सहभागिता रहने गर्दछ। जात्रा हेर्न पाल्पा र छिमेकी जिल्लाहरूबाट हजारौँ भक्तजनहरू आउने गर्छन्। यस अवसरमा भगवतीको जयजयकार गरिन्छ।

भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले विजय उत्सवलाई भव्य बनाउन विभिन्न उपसमिति गठन गरिएको जानकारी दिएका छन्। जात्रामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायतका अतिथिहरू पनि सहभागी हुने कार्यक्रम छ।

पाल्पा क्षेत्र नं. २ का सांसद ठाकुर गैरेले यो जात्रा पाल्पाको मात्र नभई अङ्ग्रेज साम्राज्यलाई पराजित गरेको इतिहाससँग जोडिएको हुनाले यसलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने र सरकारले मन्दिर तथा इतिहासको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो। यसै अवसरमा, आज लुम्बिनी प्रदेश सरकारले जिल्लाभर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button