तपाईँ सुन्दै हुनुहुन्छः

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आध्यात्मिक प्रवचनको आयोजना

काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आध्यात्मिक प्रवचन एवं चैतन्य झाँकी कार्यक्रम गरेको छ ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृष्णाष्टमी पर्व धार्मिक परम्पराको निरन्तरता मात्र नभएर समग्र मानव जगतलाई निष्काम भावले आफ्नो कर्तव्य पुरा गर्न सन्देश दिने ऐतिहासिक पर्व भएको बताउनुभयो । 

उपराष्ट्रपति यादवले श्रीकृष्णको जीवन चरित्रले समाजमा रहेका अन्याय, अत्याचार, अधर्म, असत्य र आसुरी प्रवृत्तिलाई अन्त्य गरी सत्य, सदाचार, भातृत्व, अहिंसा र आध्यात्मिक मूल्य सहितको समाज स्थापना गर्न योगदान पुर्‍याउने पनि बताउनुभयो । 

श्रीकृष्णको जीवन दर्शन र गीताको ज्ञानले मानिसमा तनाव, चिन्ता, भय, वैरभाव र मानसिक अशान्तिको अन्त्य गरी मानिसलाई शान्ति र सदाचार प्रदान गर्ने उल्लेख गर्नुहुँदै उपराष्ट्रपति यादवले समाजमा शान्ति र भातृत्व विकासका लागि ब्रह्माकुमारीज संस्थाले गरिरहेका कामहरूको प्रशंसा समेत गर्नुभयो । 

कार्यक्रममा ब्रह्माकुमारी नेपालका निर्देशक ब्रह्माकुमारी डा. राज दिदीले कृष्णाष्टमी पर्वले श्रीकृष्णको महिमा उजागर गरी उहाँ जस्तै गुणवान् र चरित्रवान् बन्न प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ राजयोगीहरु रामसिंह ऐर, तिलकबहादुर शाही, किशोर मल्ल लगायतले श्रीकृष्णको जीवनबाट सत्यको मार्गमा चल्नुपर्ने पाठ सिक्न जरुरी रहेको धारणा राख्नुभयो । 

आध्यात्मिक प्रवचन एवं चैतन्य झाँकी कार्यक्रममा राधाकृष्णको चैतन्य झाँकी तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।

तस्बिर सौजन्य : ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँ

प्रतिक्रिया राख्नुहोस्

Back to top button