तपाईँ सुन्दै हुनुहुन्छः

‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति’ स्थानीय तहमा कार्यान्वयन गर्न सुरु

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति’ स्थानीय तहमा कार्यान्वयन गर्न सुरु भएको छ । 

लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरूलाई नेपालगन्जमा बोलाएर रणनीतिको आवश्यकता, औचित्य र कार्यान्वयनका लागि संस्थागत संयन्त्रबारे जानकारी गराइएको मन्त्रालयका शाखा अधिकृत टङ्क गौतमले जानकारी दिनुभयो । २०८० मा जारी भएको उक्त रणनीतिमा स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा महिला तथा बालबालिका शाखा सदस्य सचिव रहने गरी समन्वय समितिको परिकल्पना गरिएको छ । तर, अहिलेसम्म धेरैजसो स्थानीय तहमा समिति बनेका छैनन् ।

महिला, दलित, आदिवासी, जनजाति, ज्येष्ठ नागरिक, सीमान्तकृत, अपाङ्गता तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरूलाई स्वास्थ्यको मूल प्रवाहीकरणमा ल्याउन रणनीति कार्यान्वयनमा ल्याइएको मन्त्रालयका सहसचिव ऋषि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार र आकस्मिक सेवा सुनिश्चित गर्न रणनीति स्थानीय तहमा पनि कार्यान्वयन जरुरी छ ।’ मन्त्रालयका शाखा अधिकृत गौतमले रणनीतिको उद्देश्य, प्राथमिकताका क्षेत्र, कार्यनीति लगायत समेटिएको कार्यपत्र र लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिमा समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

अन्तरक्रिया कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले लुम्बिनी प्रदेशले अब बनेको नीतिलाई कार्ययोजनामा लैजाने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य सेवाको पहुँचमा सरलता र सहजता काम गर्ने सवालमा रणनीति उपयोगीपूर्ण रहेको भन्दै सहभागीहरूले कार्यान्वयनमा सहजीकरणको प्रतिबद्धता जनाएको वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button