पहिरोका कारण वराङको १३ घरपरिवार जोखिममा

दोलखा । केही दिनदेखिको अविरल वर्षाका कारण दोलखाको विगु गाउँपालिका वडा नम्बर–२ वराङको १३ घर परिवार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा १३ घर परिवारका ६२ जना जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । जोखिममा रहेका मध्य तीन परिवारका १४ जनाले घर छोड्नु परेको उहाँले बताउनुभयो ।
पहिरोले घरको आँगनमा क्षति पुर्याएका कारण बस्न नहुने अवस्था रहेपछि वडा नम्बर– २ वराङका सुनमाया तामाङ, डिले तामाङ र भीम कुमार तामाङको परिवार विस्थापित भएका छन् । विस्थापित तीन परिवारका १४ जना अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेको प्रहरी निरीक्षक तिमल्सिनाको भनाई छ ।

त्यसैगरी, घर माथिबाट पहिरो खस्दा सोही गाउँका सुक्री तामाङ, भीम बहादुर तामाङ कुमार तामाङ, भीम बहादुर तामाङ, तेन्जी तामाङ, टेके तामाङ, कुमार तामाङ, यम बहादुर तामाङ, मोतिलाल तामाङ र ओम तामाङको परिवार पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । १० परिवारका ४८ जना पनि उच्च जोखिममा रहेको र उनीहरूलाई पनि सुरक्षित ठाउँमा बस्न भनिएको प्रहरीले जनाएको छ ।
विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओली वडा नम्बर– २ वराङमा पहिरोले केही घरहरू जोखिममा रहेको सूचना आएपछि पालिकाको टिम उक्त स्थानमा पुगी तत्काल आवश्यक पर्ने त्रिपाल, पहिरो छोप्ने कालो प्लास्टिक लगायतका सामग्री उपलब्ध गराएको बताउनुहुन्छ । जोखिम रहेका परिवारलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको र आवश्यक अन्य सहयोग गर्न पालिका तयार रहेको प्रमुख ओलीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्