बागमती प्रदेशमा १ लाख २० हजार पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप
हेटौँडा । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भाद्र १ देखि ७ गतेसम्म प्रदेश व्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रवार (आज) पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
अभियानको उद्घाटन ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्ने कार्यक्रम तय भएको छ। यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा। राम प्रकाश प्रधानले बताउनुभयो।।
सबैभन्दा बढी चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेपलान्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइने भएको छ। खोपको आपूर्ति सङ्घीय सरकारले गर्नेछ भने खोप लगाउने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने छ।
असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण प्रदेशमा ७४ पशु चौपायाको मृत्यु भएको छ भने १ हजार ६३३ पशुमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। विशेष गरी मकवानपुर, सिन्धुली, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा रोगको सङ्क्रमण बढी देखिएको छ।
यो रोग लागेपछि पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ। मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७१ हजार ९७७ पशुलाई र आर्थिक वर्ष २०८०र८१ मा ४८ हजार ३६४ पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको थियो। बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ।
पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी पशु निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठ लगायतको उपस्थिति थियो।
प्रतिक्रिया राख्नुहोस्