परम्परागत राडिपाखा संरक्षणमा महिला
बाजुरा । बाजुराको गौमुल गाउँपालिका–१ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुनिरहनु भएको छ।
परम्परागत सीपलाई संरक्षण एवम् व्यावसायिक रूपमा आत्मनिर्भर बन्न वर्षौँदेखि राडीपाखी उत्पादनलाई निरन्तरता दिइरहनुभएकी बोहराले राडीपाखी बिक्रीबाट घरखर्च चलाउन सहज हुने मात्र नभई राम्रो आम्दानी हुने अनुभव सुनाउनुभयो।

गौमुलका महिलाहरू व्यावसायिक रूपमा राडीपाखी उत्पादनतर्फ आकर्षित भइरहेका छन्। माडी मात्र होइन, गाउँपालिकाका अधिकांश बस्तीमा महिला, वृद्ध तथा अन्य स्थानीयले पनि भेडापालन गर्दै ऊन उत्पादन गरी राडीपाखी, कम्बल, फेरुवा लगायतका सामग्री बनाउने गरेका छन् । कृषि खेतीबाट मात्रै पर्याप्त आम्दानी नहुँदा यहाँका स्थानीयले मुख्य पेसाका रूपमा भेडापालन र जडीबुटी सङ्कलनलाई अपनाएका छन्।
भेडाको ऊनबाट स्थानीय पहिरन, लिउ, फेरुवा, पाखो, कम्बल जस्ता वस्तु उत्पादन गरिन्छ। बोहराका अनुसार गाउँमा उत्पादन हुने बोल्या, कम्बल, पाखी स्थानीय बजारमा दुईदेखि दश हजार रुपैयाँसम्म बिक्री हुन्छन्। “भेडाको ऊन र अल्लो भांगोको धागा निकालेर बुनाई गर्दा धेरै मेहनत पर्छ, तर आत्मनिर्भर हुन यो पेशा उपयुक्त छ बोहोराले भन्नुभयो ।
गाउँपालिकाकी अर्की उद्यमी कला रोकायाले एउटा बोल्या वा कम्बल बनाउन कम्तीमा १० देखि ३५ दिन लाग्ने बताउनुभयो। “राडीपाखी व्यवसाय झन्झटिलो भए पनि राम्रो आम्दानी दिने स्रोत हो। आफ्नो घरमै भेडापालन र धागा उत्पादन गर्न सके यो पेशा अझ फस्टाउँछ,” उहाँको भनाइ छ।

तर, समयसँगै मानिसको जीवनशैली र रोजाइमा परिवर्तन आएसँगै यस्ता परम्परागत सीप र सामग्री लोप हुँदै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। विदेशी कपडाको बढ्दो प्रयोग र चरन क्षेत्रको अभावले भेडापालन र राडीपाखी व्यवसाय सङ्कटमा परेको छ। एक दशकअघि जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक रूपमा भेडापालन हुने गर्थ्यो। भेडाको मासु, दूध र घ्यूबाट पनि किसानले राम्रो आम्दानी गर्ने गर्थे ।
भेडाको दूध गाई–भैँसीको भन्दा पोषिलो मानिन्छ र घ्यू औषधीय रूपमा प्रयोग हुने भएकाले यसको महत्व ग्रामीण क्षेत्रमा अझै उच्च छ। तर, चरन क्षेत्र घट्दै जाँदा धेरै भेडापालक किसान भेडीगोठ खाली गर्न बाध्य बनेका छन्, जसको प्रत्यक्ष असर परम्परागत राडीपाखा पेसामा परेको छ।







प्रतिक्रिया राख्नुहोस्