चौदण्डीगढीमा अवैध उत्खनन प्रकरणमा छानबिन समिति
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले गत साउन २७ गते नियन्त्रणमा लिएका १७ वटा टिप्परसहितको अवैध नदीजन्य पदार्थ उत्खनन प्रकरण छानबिनका लागि समिति गठन गरेको छ।

नगर कार्यपालिकाको बिहीबारको बैठकले वडा नम्बर-९ का अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। सदस्यमा वडा नम्बर-४ का अध्यक्ष लुङ्गाराज राई र इन्जिनियर सन्तोष राई छन्।
साउन २७ गते नगरपालिका–४ स्थित केशव बहादुर भुजेलको जग्गाबाट गिट्टी–माटो उत्खनन भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेल्टारले १७ टिप्पर नियन्त्रणमा लिएर नगरपालिकालाई जिम्मा लगाएको थियो। उत्खनन भएको स्थान निजी वा वन क्षेत्र हो भन्ने विषय स्पष्ट भएको छैन।
स्थानीयले असारदेखि उत्खनन भइरहेको बताए पनि घटना साउन २७ मा मात्र सार्वजनिक भएको हो। लामो समयसम्म बाहिर नआउनुमा ठूला व्यक्तिहरूको मिलेमतो रहेको आशङ्का गरिएको छ। केही स्थानीयले प्रहरी प्रशासनको संलग्नता भएको आरोप पनि लगाएका छन्।
यस विषयमा विभिन्न राजनैतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरी सत्य तथ्य छानबिनको माग गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ।
छानबिन समितिका संयोजक राउतले वास्तविकता पत्ता लगाई जो कोही भए पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्