तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा बाढी अपडेट: २४ घरमा पूर्ण क्षति एक सय घर जोखिममा

बाजुरा। अविरल वर्षापछि आएको आकस्मिक बाढीले बाजुराको विकट क्षेत्रमा पर्ने बिच्छ्या र कुवाडी क्षेत्रमा ठुलो भौतिक क्षति पुर्‍याएको छ।

बुधवार दिउँसो हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले बिच्छ्याका १३ र कुवाडी गाउँमा ११ घर गरी कुल २४ वटा घर पूर्ण रूपमा क्षति भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीका कारण एक सय घर र विभिन्न सरकारी संरचनाहरू उच्च जोखिममा परेका छन्। केही घर बगाएका छन् भने केही पुरिएका छन्। तर मानवीय क्षति भने भएको छैन।

हिमाली गाउँपालिका-१ बिच्छ्याका नरेन्द्र बहादुर थापा, छन्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापा, आइसिंह बोहरा, भिमराज बोहरा, चन्दलाल बोहरा, मनी बुढा, रबिलाल बोहरा, बिर सिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा लगायतका घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो। 

त्यस्तै खेतीयोग्य जमिन, हिमाली गाउँपालिक-१ को वडा कार्यालय भवन, बिच्छ्या माध्यमिक विद्यालय, बिच्छ्या स्वास्थ्य चौकी, बिच्छ्या खोला झोलुङ्गे पुल तथा नानीखोला जलविद्युतमा क्षति पुर्‍याउनुका साथै उच्च जोखिममा पारेको हिमाली गाउँपालिकाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले समयमै सचेत गराएकाले मानवीय क्षति नभए पनि ठुलो भौतिक क्षति भएको बताउनुभयो। अहिले पीडितहरूको उद्धार तथा राहत कार्य र क्षतिको यकिन विवरण हिमाली गाउँपालिकाको समन्वयमा भइरहेको छ।

विवरण आइसकेपछि जिल्ला, प्रदेश र सङ्घीय सरकारबाट राहतका लागि थप पहल गरिने पनि प्रमुख जिल्ला अधिकारी पाध्याले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button